कार्यकर्तालाई कोरोना लागेपछि प्रचण्डलाई चिन्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता–कार्यकर्तासँगको भेटघाट बन्द गर्नुभएको छ । केन्द्रीय कार्यालयका केही कार्यकर्ता र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रचण्डले आजै दिउँसोदेखि भेटघाट स्थगित गर्नुभएको हो ।
कार्यालयमा कार्यरत कार्यकर्ता र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रचण्डले भौतिक रुपमा हुने भेटघाट र बधाई ज्ञापनको कार्यक्रम स्थगित गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । आज एक वक्तव्य जारी गर्दै सचिवालयले भौतिकरुपमै उपस्थित भएर हुने बधाई ज्ञापनका कार्यक्रमहरु स्थगित भएको जानकारी दिएको हो ।
हालै सम्पन्न पार्टीको आठौँ महाधिवेशनबाट नयाँ कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएका प्रचण्डलाई भेटेर बधाई दिने र खादा लगाउने भीड बढिरहेको र यसले कोरोना संक्रमणको जोखिम बढेको भन्दै उहाँले यस्तो निर्णय गर्नुभएको हो ।
‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण एवम् स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवम् शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं,’ प्रचण्डको सचिवालयले भनेको छ ।
माओवादी केन्द्रीय कार्यालयका लेखा प्रमुखसहित ६ जनालाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ । प्रचण्डको सचिवालयले त्यहाँ रहेका नेता–कार्यकर्ता र कर्मचारीलाई पनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकाले कार्यालयमा हुने भीडभाडमा समेत उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं,’ सचिवालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।
टिप्पणीहरू