आफैँले विघटन गरेको संसद चल्न नदिने आवेग ओलीमा रहेको काँग्रेस महामन्त्रीको दाबी

आफैँले विघटन गरेको संसद चल्न नदिने आवेग ओलीमा रहेको काँग्रेस महामन्त्रीको दाबी

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक इगो र आवेगमा संसदलाई बन्धक बनाउन नहुने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध राखेर संसद चल्न नदिएको आरोप लगाउँदै उनले संसदमा अवरोध गरेर समस्या समाधान नहुने बताए ।

गृह प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व पुगेका महामन्त्री शर्माले आज इलाम सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘मैले दुई–दुई पटक विघटन गरेको संसद चल्न दिन्न’ भन्ने आवेग पूर्वप्रधानमन्त्री केपी ओलीमा देखिन्छ । यदि त्यस्तो हो भने स्थिरताको कल्पना गर्न सकिँदैन ।’

एमालेले आफ्नो पार्टीले निश्कासन गरेको सांसदलाई संसदको बैठकमा राख्न नहुने भन्दै निरन्तर रूपमा सदनमा अवरोध गरिरहेको छ । तर, एमालेले सभामुखले गरेको निर्णय मान्नुको विकल्प नभएको शर्माको भनाइ छ । कुनै अथोरिटीले गरेको निर्णयमा असहमति राख्न पाइने तर, त्यसलाई चुनौती दिन भने नमिल्ने भन्दै उनले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराए ।

ओली अनुभवी राजनीतिज्ञ भएकाले उनले आत्मसमीक्षा गरेर संसद चल्न दिने महामन्त्री शर्माको विश्वास छ । ‘यो हामी सबैले स्थापित गरेको प्रणालीको कुरा हो’, उनले भने, ‘उहाँ (ओली) ले दृढताको साथ आत्मासात गर्नुहुनेछ र संसदलाई नियमित र विधिसम्मत काम गर्न दिनुहुनेछ ।’

नेतृत्वले विधिसम्मत् कार्य गर्न जरुरी रहेको भन्दै शर्माले सरकारले बोलाएको बैठकमा ओली अनुपस्थित रहेकोप्रति असन्तुष्टि जनाए । ‘गम्भीर राष्ट्रिय विषयमा संवाद गर्न बोलाउँदा उहाँ नआउने, सर्वदलीय बैठक बहिस्कार गर्ने भइरहेको छ’, शर्माले थपे, ‘उहाँ प्रधानमन्त्री भएको बेला काँग्रेस सभापति एउटा बैठकमा तर्कको साथ उपस्थित हुनु भएन, उहाँले बोलाएको सबै बैठकमा सभापति आलोचना सहेर भए पनि जानु भएको छ, हामीले पनि बैठकमा सभापतिलाई प्रधानमन्त्रीले बोलाएको बैठकमा जान सुझाएका थियौँ ।’

गठबन्धनको सन्दर्भमा भने काँग्रेसले ठीक समयमा ठीक निर्णय लिने महामन्त्री शर्माको टिप्पणी छ । ‘गठबन्धन आगामी निर्वाचनमा पनि यसरी नै हुनेछ भन्ने ठोकुवा गर्न मिल्दैन’, उनले भने,‘काँग्रेसमा विधिवत् छलफल नभइकन आगामी निर्वाचनमा गठबन्धन हुने छैन भन्न पनि मिल्दैन, हामी ठीक समयमा ठीक निर्णय लिन्छौं ।’

अहिलेको गठबन्धनले आफ्नो दायित्व पूरा गर्नुपर्ने महामन्त्री शर्माको धारणा छ । ‘हामीलाई सरकार चलाउने म्यान्डेट थिएन, प्रतिपक्ष बस्ने नै हामीले म्यान्डेट पाएका हौँ’, उनले थपे, ‘म्यान्डेट पाएकाले सरकार चलाउन सकेन, म्यान्डेट खण्डित भएपछि हामी सरकारमा गएका हौँ ।’

फरक प्रसंगमा महामन्त्री शर्माले एमसीसीकाबारेमा अध्ययन समितिको रिपोर्ट आएपछि मात्र के गर्ने भन्ने टुंगो लाग्ने प्रतिक्रिया दिएका छन् ।

टिप्पणीहरू