ओमिक्रोन पुष्टि भएपछि गण्डकीमा कडाइ

ओमिक्रोन पुष्टि भएपछि गण्डकीमा कडाइ

कोरोनाको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण पुष्टि भएपछि गण्डकी प्रदेशमा त्रास फैलिएको छ । प्रदेश सरकारले संक्रमण फैलिन नदिन सदरमुकाम कास्कीसहितका जिल्लामा कडाइ थालेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले आवश्यक तयारी गर्न भनेपछि प्रदेशले संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक तयारी शुरु गरेको हो । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीसहितको आज बसेको आकस्मिक बैठकले ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा परीक्षणलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री, जनशक्ति व्यवस्थापन, अक्सिजन सिलिण्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

मन्त्री अधिकारीले सबैखाले महोत्सव बन्द गर्न सम्बन्धित निकायलाई जानकारी दिन सचिवमार्फत निर्देशन दिनुभएको छ । ‘मानिसको स्वास्थ्य भन्दा ठूलो अरू कुरा होइन । अहिले मेला महोत्सव तुरुन्त रोक्नु,’ उहाँले भन्नुभयो, ‘आवश्यक परे स्मार्ट लकडाउनसम्म गर्नुपर्ने हुन सक्छ ।’

मन्त्रालयले यसअघि सञ्चालन गरेको हेलो डाक्टर, कोरोना अपडेटलगायत काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । मन्त्रालयको ग्राफअनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी, लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् ।

भारतसँग सीमा जोडिएका नाकाहरूमा सरकारले १/१ हजार बेडको आइसोलेसन निर्माण गरेको छ । पछिल्लो २४ घण्टामा यहाँ १६ जना नयाँ संक्रमित देखिएका छन् ।

टिप्पणीहरू