सभामुख निवासमा अस्ति राती घनश्यामहरुको प्रवेश

सभामुख निवासमा अस्ति राती घनश्यामहरुको प्रवेश

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने वा नगर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । सत्ता गठबन्धनको मुख्य दल नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री जसरी पनि सम्झौता पारित गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

तर गठबन्धनका अन्य दल आवश्यक संशोधन नगरेसम्म संसदबाट पारित गर्न नहुनेमा टसको मस भएका छैनन् । एमाले विपक्षी दलको हैसियतमा पुगेपछि उसले यसबारे केही बताएको छैन । अघिल्लो वर्ष सत्तामा छँदा एमाले अध्यक्षले जसरी पनि पारित गराउनुपर्ने बताउँदै संसदमा प्रस्ताव टेबुल गर्नुभएको थियो ।

अहिले राजनीतिक दल र तिनका नेताहरुबीच एमसीसी सम्बन्धमा तीव्र ध्रुवीकरण भएको छ । यही सन्दर्भमा अस्ति बेलुकी सभामुख अग्निप्रसाद सापकोटासँग केही दलका नेताहरुले भेटघाट गरेका छन् । सभामुखको निवास लैनचौरमा भएको भेटघाटमा लामै कुरा भएको बताइन्छ ।

एमाले स्थायी समिति सदस्य घनश्याम भुसाललगायतका नेताहरु एमसीसीको सरकारी भावी प्रस्तावबारे बुझ्न सभामुख निवास पुगेका हुन् । भुसालसँगै सांसद तथा एमाले नेता डा.दीपकप्रकाश भट्ट समेत रहेको बताइन्छ । सो अवसरमा सभामुखले ‘मेरो त के हुन्छ र राजनीतिक पार्टीको कुरा हो” भनेर विषयवस्तुमा छलफल गर्नुभएको स्रोतको दाबी छ ।

सभामुख सापकोटाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमसीसी यस्तो भयंकर गम्भीर मुद्दा हो,यसमा राजनीतिक पार्टीहरुले राष्ट्रिय सहमति गरुन् भन्ने मेरो चाहना हो । उठेका प्रश्नहरुको बारेमा जनतालाई प्रष्टसँग बताउनु राम्रो हुन्छ । मेरो चाहना यसले नेपाली समाजलाई विभाजित नगरोस् भन्ने नै हो ।’

यता बालकोटतिरको पछिल्लो धारणा बाहिर नआए पनि एमसीसीलाई च्याँखे थाप्ने कामा प्रयोग गर्ने निर्णय भएको बताइन्छ । ‘राजनीतिक कथाले के माग्छ, उनीहरुले त्यही गर्छन्,’ एमालेको पछिल्लो निर्णयबारे आशंका गर्दै स्रोतले उल्लेख गरेको छ । हिजो बालकोटमा एमाले पदाधिकारीहरुको बैठक बसेको थियो ।

हिजोको भेटमा सभामुखले एमालेले आफ्नो विरोधमा कालो झण्डा देखाएको बारेमासमेत कुरो उठाउनुभएको हो । उहाँलाई दिउँसो बनेपामा एमाले कार्यकार्ताले कालो झण्डा देखाएका थिए । मिलेसम्म यहि मेसोमा उहाँलाई सभामुखबाट खुस्काइदिने चाहनाबमोजिम एमालेका पछिल्ला गतिबिधि भइरहेको माओवादी उच्चस्रोतले बताएको छ ।

टिप्पणीहरू