मेलामा पालिकास्तरीय भलिबल प्रतियोगिता

मेलामा पालिकास्तरीय भलिबल प्रतियोगिता

फिदिम नगरपालिका ६ सीवामा अर्थे मेला २०७८ को अवसरमा आयोजित दोस्रो पालिकास्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता भएको छ । हिजो सम्पन्न खेलमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र ताप्लेजुङ याङवरक गाउपालिका विजयी भएका छन् ।

स्थानीय भगवती माविको खेल मैदानमा जारी प्रतियोगिताको मंगलबार भएको पहिलो खेलमा पाँचथरको हिलिहाङ गाउँपालिकालाई २५–२०, २५–१६ र २५–२३ को सोझो सेटमा पराजित गर्दै फाल्गुनन्द गाउँपालिका विजयी भएको हो । खेलको म्यान अफ दि म्याच फाल्गुनन्द गाउँपालिकाको जर्सी नम्बर ७ मिलन लिन्बु बने । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हिजै सम्पन्न दोस्रो खेलमा पाँचथरको तुम्बेवा गाउँपलिकालाई २५–१५, २५–१९, २१–२५ र २५–१६ को सेटमा पाखा लगाउँदै डिफेन्डिङ च्याम्पियन पाथिभरा याङवरक अर्को चरणमा प्रवेश गरेको हो । उक्त खेलको म्यान अफ दि म्याच प्रवीण बस्नेत बने । उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आज दिउँसो १२ बजे पाँचथरको याङवरक गाउँपालिका र इलामको देउमाई नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे पाथिभरा याङवरकले फाइनल प्रवेशको लागि पाँचथरको कुम्मायक गाउँपालिकाको सामना गर्ने प्रतियोगिताका खेल संयोजक कमल तुम्रोकले बताए ।

टिप्पणीहरू