साउदीका परराष्ट्रमन्त्री नेपाल आउने, यताका श्रममन्त्री कतार जाने

साउदीका परराष्ट्रमन्त्री नेपाल आउने, यताका श्रममन्त्री कतार जाने

साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउनुहुने भएको छ । दुईदिने भ्रमणका लागि फागुन मसान्तमा काठमाडौं झरेर उहाँ चैत १ गते स्वदेश फर्किने कार्यक्रम छ ।

आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिनुभएको हो । नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी सरकारका बीच हुने ’जनरल कोअपरेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबिया’को मस्यौदा स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त अरब इमिरेट्स र कतार भ्रमण गर्न स्वीकृत दिने, तुल्सीपुर उपमहानगरपालिका र स्पेनको बिलओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृत प्रदान गर्ने पनि क्याबिनेटको निर्णय छ ।

प्रवक्ता कार्कीले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र्यापिड एक्शन टास्क फोर्स गठन गर्ने निर्णय सरकारले गरेको जानकारी दिनुभयो । राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वको सुर्खेतमा रहेको ९ कट्ठा आठ धुर जग्गा नेपाल राष्ट्र बैंकलाई दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । त्यस्तै, क्याबिनेटले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा ७ देखि १८ मार्चसम्म सञ्चालन हुने यूनाइटेड नेशन्स अन द ल, अफ द सी अन द कन्जर्भेसन एण्ड द सस्टेनबल युज अफ मेरियन बायोलोजिकल डायभर्सिटी अफ एरियाज बिवाइण्ड नेशनल जेरिडिक्शन बीबीएन्जीअन्तर्गत इन्टर्न गभर्मेण्टल कन्फ्रेन्सको चौथो सत्रमा नेपालको तर्फबाट सहभागिताका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको नेतृत्वको भ्रमण टोलीलाई क्याबिनेट बैठकले स्वीकृत गरेको छ ।

१४ चैतमा अमेरिकाको न्यूयोर्कमा हुने गभर्मेण्ट कन्सलटेसन अन द स्टकहम प्लस ५० एलगेसी इन्गेजमेण्ट स्टाटेजी प्रिपेटरी मिटिङसम्बन्धी कार्यक्रममा सहभागी हुन सचिव डा. प्रेमनारायण कँडेललाई स्वीकृत दिने निर्णय पनि सरकारले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, सरकारले बंगलादेशको ढाकामा आगामी ८ देखि ११ मार्च २०२२ मा आयोजना हुने ३६ सेसन अफ द एफएयू डिजिटल कन्फ्रेन्स अन एशिया स्पेशिफिकमा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिवको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने, बीउबिजनको किसिम वा जाँच सुचित गरी प्रयोजनार्थ राष्ट्रिय बीउबिजन समितिबाट सिफारिस गरी आएबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिने निर्णय समेत गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले जीटूजी विधिअन्तर्गत भारत सरकारसँग हस्ताक्षर भएको समझदारी पत्रमा भएको व्यवस्था बमोजिम ज्वाइन स्टेरिङ कमिटीमा सहभागी हुन नेपालको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विकास महाशाखा सहसचिवको नेतृत्वमा टोली गठन गर्ने तथा मल खरिद गर्ने निकायको रुपमा कृषि सामग्री कम्पनी लिमिटेडलाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, फोहोर महिला व्यवस्थापन सम्बन्धी कानूनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने, राष्ट्रिय भवन प्रविधि अनुशासन केन्द्र र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको संगठन संरचना र दरबन्दी टेरिज स्वीकृत गर्ने र पत्रकार दुर्घटना बीमा व्यवस्था पहिलो संशोधन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय क्याबिनेटले पारित गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

टिप्पणीहरू