चौतारीमा नसमेटिएपछि ज-जसले चित्त दुखाए

चौतारीमा नसमेटिएपछि ज-जसले चित्त दुखाए

एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीको नवौं राष्ट्रिय महाधिवेशन गए राती भूगोल र पदाधिकारीतर्फको नाम टाँसेर सकिएको छ । गत मंसिरमा चितवनमा सम्पन्न एमाले १० औं महाधिवेशनमा झैं पोखरामा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको रोजाइका नामहरु अध्यक्ष गणेश बस्नेतको नेतृत्व दोहोरिने गरी भित्तामा टाँसेर अधिवेशन सकिएको हो ।

एक हजार प्रतिनिधि भेला भएको महाधिवेशनमा पेश गरिएको आर्थिक र सांगठानिक प्रतिवेदनसमेत हाटहुट पाराले पारित गरिएको प्रतिनिधिको गुनासाे रह्यो । अघिल्लो दिन उद्घाटन समारोहमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सैद्धान्तिक रुपमा ‘पारदर्शी’ हुन आग्रह गर्नुभएको थियो । उहाँ काठमाडौं हिँडेको २४ घण्टापछि ठ्याक्कै उल्टो ढंगले महाधिवेशन सकिएको प्रतिनिधिहरुले बताएका छन् ।

महाधिवेशनले सबै कार्यकर्ता र सदस्यलाई गोलबन्द गर्ने नाममा ४ सय जनाको कार्यसमिति बनाए पनि आकाँक्षा र अपेक्षा सम्बोधन हुन नसकेको देखिएको छ । अघिल्लो सरकारमा स्वास्थ्य र कानुनमन्त्री हुँदा भानुभक्त ढकालको प्रेस सल्लाहकार रहेका माधव तिवारीले हिजैदेखि संगठनमा निष्क्रिय रहने घोषणा गरेका छन् । ओली बाको दह्रो खम्बा मानिएका तिवारीले प्रेस चौतारीको साधारण सदस्यसमेत त्यागेको सामाजिक सञ्जालमा लेखेका छन् । महासचिव बन्न इच्छुक राससका खम्बा प्रकाश सिलवाल पनि जिम्मेवारी र चुनौती मोल्न तयार छु भन्दाभन्दै पाखा पारिएका छन् ।

गणेशलाई सर्वसम्मत अध्यक्ष घोषणा गरिएकै कारण अर्का प्रत्याशी तथा सक्रिय पत्रकार माधव नेपाल,टीका बिष्ट किनारा लागेका छन् भने पार्टी महाधिवेशनभर सचिवालयमा बसेर अहोरात्र बुलेटिन निकाल्ने मोहन बास्तोलाको नामोनिशान मेटाइएको छ ।

उता लुम्बिनीका हस्ती नरेश केसी पनि त्यत्तिकै निराश भएका छन् । उनले पनि सामाजिक सञ्जालमार्फत् पत्रकार महासंघको साधारण सदस्य मात्रै रहेको जनाउ दिएका छन् । उनले लेखेका छन्, ‘म लुम्बिनी क्षेत्रमा क्रियाशील पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबको अध्यक्ष र पत्रकार महासंघको साधारण सदस्य मात्रै हो । त्यसैअनुसार आगामी दिनमा पत्रकारहरुको हकहितमा क्रियाशील रहनेछु ।’

टिप्पणीहरू