सेनामा सुरसार

सेनामा सुरसार

उत्तरी छिमेकी चीनले नेपाली सेनालाई वार्षिक १ दशमलव ५ मिलियन आरएमबी (चिनियाँ मुद्रा) बराबरको सहयोग दिने गरेकोमा त्यसलाई कोरोनासम्बन्धी सामाग्रीमा रुपान्तरण गरी दिनका लागि प्रस्ताव अघि बढेको छ ।

यस्तो गर्दा सरकारलाई पनि सहयोग हुन्छ भन्ने कोणबाट कुरा चलेको हो । यस्तो प्रस्ताव सेनाले सोझै चीनमा पठाउन नपाउने कारण रक्षा र परराष्ट्र मन्त्रालयमार्फत अघि बढाउनुपर्छ । तर, त्यसमा केही ढिलाई भइरहेको बताइन्छ ।

यसबीच, सैन्य नेतृत्वमा ठूलै हेरफेर हुने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपाली सेनाको तेस्रो वरियतामा रहेका तीनतारे जर्नेल गौरव तण्डुल वैशाख ३ गतेबाट घर बस्ने भएका छन् । तण्डुलको अवकासपछि तीनतारे जर्नेलको एउटा पद रिक्त हुने नै भयो । सँगै, गीतकारका रुपमा समेत चर्चामा रहने आनन्द अधिकारीको दुई तारेमा बढुवा हुने गरी सात दिने सूचना निस्किएको छ । ‘ओराली लागेको हरिणको चाल भो’ देखि ‘सुनको माया हुँदैन, फूल टिपी लाइदेऊ शीरैमा’ लगायत थुप्रै गीत रचना गरेका उनी अहिले मिलिटरी अपरेशन्स (डिजिएमओ) अन्तर्गत कार्यरत छन् ।

सम्भवतः बढुवालगत्तै बुटवलमा पृतनापति भएर जाँदैछन् । त्यहाँका पृतनापति सीताराम खड्काको यही महिनामा जागीरे जीवन सकिँदैछ । सुर्खेतस्थित उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणा पनि घर जाँदैछन् । सरोजको ठाउँमा सञ्जय थापाको बढुवा हुने सम्भावना छ । राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत निर्मल थापालाई सुदूरपश्चिम पृतनाको कमाण्ड सम्हाल्न पठाइएको छ । सुदूरपश्चिमका बालकृष्ण कार्कीलाई स्टाफ कलेजमा तानिएको छ । स्टाफ कलेजमा कार्यरत ईश्वर हमाल फोर्स कमाण्डरका रुपमा विदेश जान लागेका छन् । सुरक्षा परिषद्मा भने जंगी अड्डाबाट तालिमसम्बन्धी हेर्ने विभाग डिजिएमटीका प्रमुख शशिबहादुर सिंहलाई हेर्ने गरी जिम्मेवारी थपिएको छ ।

सेनाको वार्षिकोत्सवका दिन मापसे गरी झगडा गरेका एकतारे जर्नेलहरु अरुण न्यौपाने र देवेन्द्र खत्रीमाथि कोर्ट अफ इक्वायरी भइरहेको बुझिएको छ ।

टिप्पणीहरू