पाँच लाख बढीले लिए श्रम स्वीकृति
पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान पाँच लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०७८ वैशाख १ गतेदेखि चैत ३० गतेसम्मको अवधिमा कूल ५ लाख ९ हजार ५ सय ९३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।
२०७८ सालमा प्रत्येक महिना औसतमा ४२ हजार ४ सय ६६ जनाभन्दा बढीले विभागबाट श्रम स्वीकृति लिएका छन् । गत वर्षको वैशाखमा २४ हजार तीन सय ६३, जेठमा चार हजार ८६, असारमा २० हजार छ सय ५८, साउनमा २५ हजार चार सय २८, भदौमा ३६ हजार ४०, असोजमा ३९ हजार छ सय ७१ ले श्रम स्वीकृति लिएका थिए ।
त्यसैगरी कात्तिकमा ५४ हजार नौ सय १८, मंसिरमा ७४ हजार तीन सय ५४, पुसमा ६६ हजार छ सय २५, माघमा ५४ हजार चार सय ७०, फागुनमा ५३ हजार चार सय ५७ र चैतमा ५५ हजार पाँच सय २३ जनाले श्रम स्वीकृति लिएका छन् ।
सन् २०१९ डिसेम्बर अन्तिम साताबाट कोरोना महामारी फैलन थालेपछि वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः घट्दै गएको थियो । कोरोना महामारी शुरु भएको वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिनेको संख्या तीन लाख ६८ हजार चार सय ३३ रहेको थियो ।
त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जान चार लाख ७६ हजार सात सय पाँच जनाले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७७/७८ मा उक्त संख्या एक लाख ६६ हजार छ सय ९८ मा झरेको थियो । कोरोना महामारीले थलिएको वैदेशिक रोजगारी यो वर्ष पुरानै लयमा फर्केको श्रम स्वीकृति लिनेको तथ्याङ्कले देखाएको छ ।
टिप्पणीहरू