राष्ट्रिय भलिबलः महिलातर्फ आर्मी र पुलिसको सुखद् सुरुवात, एपीएफ पराजित

राष्ट्रिय भलिबलः महिलातर्फ आर्मी र पुलिसको सुखद् सुरुवात, एपीएफ पराजित

छैठौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जीत हात पार्दा एपीएफ क्लब भने पराजित भएको छ ।

दोस्रो दिनको पहिलो खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मीले एभरेष्टमाथि २५–१९, २५–७, २५–१८ को सेटमा जीत निकाल्दै सुरुवाती तीन अंक जोडेको थियो । यता, एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गरेको छ । सुरुवाती दुई सेट गुमाएको एपीएफले तेस्रो सेट जित्दै खेलमा फर्कने कोशिस गरे पनि सफल हुन सकेन ।

पुलिसले भने एपीएफलाई सुरुवातबाटै दबाबमा राख्न सफल भएको थियो । पुलिसले सुरुवाती दुई सेट २५–२०,२५–२३ ले जित्दा तेस्रो सेट एपीएफले २५–१७ जित्यो । तर, चौथो सेट २५–१६ ले जित्दै पुलिसले महत्वपूर्ण तीन अंक हात पारेको हो । आज नै पुरुषतर्फका तीन खेल हुनेछन् ।

टिप्पणीहरू