व्यक्ति होइन संस्था भएर सोच्दा के बिग्रन्छ ?

व्यक्ति होइन संस्था भएर सोच्दा के बिग्रन्छ ?

जसले संघीय राजधानी काठमाडौंको जिम्मेवारी लिएको छ, ऊ नै गैरजिम्मेवार बनेर कुर्लिन्छ– सिंहदरबारको फोहोर उठ्दैन । स्थानीय सरकार प्रमुख भएर संघीय सरकार र नेताहरूलाई सिसडोलमा डम्पिङ गर्ने भन्दै उत्तेजना फैलाउँछ । नेताहरूमाथिको त्यो टिप्पणी गैरजिम्मेवार हो । पदमा बसेको मान्छेले यस्तो लेख्नु भनेको गालीबेइज्जतीमा मुद्दा चल्ने अवस्था सिर्जना गर्नु हो । मेयर हुँ भन्ने अनि फोहोर व्यवस्थापन पनि गर्दिन भन्दा अख्तियारमा मुद्दा चल्न सक्छ । गाँजा खाएर जथाभावी लेख्दै हिँड्नेको हकमा लागुऔषध सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) ऐन आकर्षित हुने अवस्था पनि छ । जे गर्दा पनि हुन्छ भन्ने सोच विकसित हुँदै अहिलेको युवा पिँढीलाई उद्दण्ड बनाइदिने र अराजकता निम्त्याउँदै यो देशमा काम लाग्दा कोही छैनन्, कोही केही पनि होइनन्, त्यसैले जे गरे पनि हुन्छ भन्ने सोच हुर्काउनुहुन्न ।

भूतपूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा र हवाई क्षेत्रका सुरेशमान प्रधानलगायत पूर्व ब्युरोक्र्याट्सहरू मेयर साहका सल्लाहकार छन् । उनीहरूले दिएको सल्लाह बालेनले मान्छन्, मान्दैनन् स्पष्ट हुन सकेको छैन । उनले अहिलेसम्म नगर परिषद बोलाएका छैनन् । महानगरपालिका र कार्यपालिकाको बैठक पनि बसेको छैन । राष्ट्रिय सभा गृहको भवनमा खडा भएको अफिसमा त झनै गएको देखिन्न । त्यसै अफिसमा उनका वैतनिक र अवैतनिक सल्लाहकारहरू बसेर विभिन्न कर्मचारीलाई निर्देशन दिएको सम्म सुनिन्छ । यहीं बसीबसी हप्तामा लाखको खाजा बिल उठाउने यस्ता राम्रा र नाम कमाएका पूर्व ब्युरोक्र्याट्स सारथि पाएर पनि मेयर साहले संरचनागत पूर्वाधारका काम खासै गरेका छैनन् । 

देशको राजधानीले नै पहिलो प्रभाव दिन्छ । राजधानीको मियो समातेर बसेका मेयर साहले गर्ने हल्का टिप्पणीले उनको व्यक्तिगत साखमात्रै होइन, समग्र राजनीतिज्ञको प्रतिष्ठा गिराएको छ । हल्का डोजमा शुक्रबार र शनिबार फेसबुकमार्फत बहकिनु राजधानीको नगरपिताका लागि सुहाउँदो विषय होइन । उनले यो स्वभावमा परिवर्तन ल्याउन जरुरी छ किनभने उनी अहिले सार्वजनिक व्यक्तित्व हुन् । ¥याप ठोक्ने ‘बाले’,  ‘बालै मतलव वा बालै फरर’ भन्ने बालेन साह होइनन् । आफ्नो पदीय दायित्वको मर्यादा ख्याल गर्न मेयर साह सचेत हुनुपर्ने हो । भोलिका दिनमा लागुपदार्थ सेवन गर्दागर्दै अश्लिल र छाडा बोलेको भन्दै कुनै हिम्मतिलो प्रहरीले पक्राउ ग¥यो भने के भन्ने ? साइबर अपराधमा कसैले उजुर हाल्यो भने के गर्ने ? फसायो भन्ने ? त्यसो भनेर फुर्सद मिल्छ ? 

सबैले आआफ्नो मर्यादामा बसेर पदीय दायित्व निभाउने प्रयास गर्दा उत्तम हुन्छ । महात्वाकांक्षीहरूलाई असत्य भए पनि मीठो वचन राम्रो लाग्छ । सत्य कटु हुने भएकाले फिटिक्कै मन पर्दैन । तर यो व्यक्तिको कुरा होइन, यो त समग्र संरचना र प्रणालीमा प्रभाव पार्ने तहसम्मको आग्रह हो ।
 

टिप्पणीहरू