सबै श्रेणीहरू

काठमाडौंको सडकमा एमाले, रास्वपा, राप्रपाविरुद्ध मूर्दावादको नारा

काठमाडौंको सडकमा एमाले, रास्वपा, राप्रपाविरुद्ध मूर्दावादको नारा

मीटरब्याजीलाई कारबाही गर्न ऐन संशोधनका लागि सरकारले संसदमा दर्ता गरेको विधेयक पारित नभएपछि मीटरब्याज पीडितहरु पुनः आन्दोलनमा उत्रिएका छन् । 

मीटरब्याज पीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले गरेको सदन अवरुद्धका कारण निस्क्रिय भएपछि आजदेखि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् । 

संसद घेराउ कार्यक्रमअन्तर्गत मीटरब्याजविरूद्ध संघर्ष समिति नेपालका अध्यक्ष मनोज पासवानको नेतृत्वमा करिब दुई सय जनाको उपस्थितिमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गर्दै माइतीघरबाट निस्केको जुलुस संसद भवन नजिकै पुगेर कोणसभामा परिणत भएको थियो । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका उनीहरुले सोक्रममा आफूहरुसँग गरेको सहमति कार्यान्वयन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।  

 

त्यसक्रममा प्रदर्शनकारीहरुले सरकार र राजनीतिक दलविरुद्ध चर्को नाराबाजीसमेत गरे । उनीहरुले ‘संविधानमा उल्लेख समाजवाद उन्मुख अर्थनीति निर्माण गर’, ‘मीटरब्याज पीडितलाई न्याय दे’, ‘सुदखोर पीडक मूर्दावाद’, ‘मीटरब्याजविरुद्ध हाम्रो आन्दोलन जारी छ’, ‘सामन्तीका मतियार मूर्दावाद’, ‘एमाले, रास्वपा, राप्रपा मूर्दावाद ! मूर्दावाद !’ जस्ता नारा लगाएका थिए ।   

गत २० वैशाखमा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधानअनुसार ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने हुन्थ्यो । तर, निर्णयार्थ प्रस्तुत गर्ने दिन प्रधानमन्त्रीको राजीनामा मागेर एमालेसहितका प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका कारण पारित हुन नसक्दा सो विधेयक निस्क्रिय भएको हो ।