१३ पटक पक्राउ र ३१ वर्षको जेल सजाय प्राप्त महिलालाई नोबेल पुरस्कार

१३ पटक पक्राउ र ३१ वर्षको जेल सजाय प्राप्त  महिलालाई नोबेल पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइएको छ । 

महिला उत्पीडनविरुद्ध काम गरेको र महिला स्वतन्त्रता रक्षामा योगदान पुर्याएको उल्लेख गर्दै नोबेल पुरस्कार समितिले उनलाई यस वर्षको शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

समिति अध्यक्ष बेरिट रेइस एन्डरसनले नोबेल पुरस्कार नरगिससँग जोडिएको सम्पूर्ण महत्वपूर्ण आन्दोलनको पहिलो र प्रमुख मान्यता रहेको बताएका छन् । उनले पुरस्कारको प्रभावबारे समितिले निर्णय नगर्ने उल्लेख गरेका छन् । अगाडि बताए, ‘नोबेल पुरस्कारले जस्तोसुकै परिस्थितिमा पनि नरगिसलाई आफ्नो आन्दोलन तथा काम जारी राख्न प्रोत्साहन दिने छ ।’ 

५१ वर्षीया नरगिसले पत्रकारका रुपमा समेत लामो समय इरानमा काम गरेकी छन् । पत्रकारितामार्फत महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाएपछि नरगिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन जेलमा राखेको छ । 

पछिल्लो पटक सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी हुँदा पक्राउ परेकी थिइन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनको क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए । 

नरगिसलाई १३ पटक पक्राउ गरिएको छ भने हालसम्म ३१ वर्ष जेल सजाय सुनाइएको छ । सन् २००३ मा मानवअधिकारकर्मी सिरिन इवादीले नोबेल पुरस्कार जितेपछि नरगिस नोबेल पुरस्कार जित्ने १९ औं महिला तथा दोस्रो इरानी महिला हुन् ।

टिप्पणीहरू