विश्वकपको अर्को चरणमा पुग्न नेपाललाई १४६ रनको लक्ष्य
आईसीसी यू–१९ विश्वकप २०२४ को 'सुपर सिक्स' मा पुग्न नेपालले १४६ रनको मध्यम लक्ष्य पाएको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डन मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रन बनाएर अलआउट भएपछि नेपालले जितका लागि उक्त लक्ष्य पाएको हो । अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालका फास्ट बलर आकाश चन्दले ५ विकेट लिए ।
अफगानिस्तानका मोहम्मद अल्लाह घजान्फरले सर्वाधिक ३७ रन बनाए । मात्र ८८ रनमा ८ विकेट गुमाएर दयनीय अवस्थामा पुगेको टोलीलाई सम्मानजनक स्कोरमा पुर्याउन नवौं विकेटका लागि फरिदुन डावुड्जाई र कप्तान नासिर खानले ५५ रनको साझेदारी गरेका थिए ।
नेपालका लागि आकाशले ५, दिपेश कँडेलले २ तथा तिलक भण्डारी, गुलसन झा र सुवास भण्डारीले एक-एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
विजेता टोलीले प्रतियोगिताको दोस्रो चरणमा स्थान पक्का गर्नेछ ।
टिप्पणीहरू