भट्टीको चिनजानले लियो ज्यान

भट्टीको चिनजानले लियो ज्यान

एक हप्ताअघि भक्तपुरमा मृत भेटिएका गोपाल ढकालको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । 

महानगरीय प्रहरी परिसर भक्तपुरले चाँगुनारायण नगरपालिका–६ का २९ वर्षीय सन्तोष सुवाललाई काभ्रेपलाञ्चोकको मण्डनदेउपुरबाट पक्राउ गरेको हो । हत्यापछि फरार रहेका उनलाई आज पत्रकार सम्मेलनमार्फत् प्रहरीले सार्वजनिकसमेत गरेको छ । 

फागुन ९ गते कोठाबाट तेल किन्न भनी बाहिर निस्केका ढकाल नफर्किएपछि परिवारका सदस्यले भोलिपल्ट प्रहरी वृत्त जगातिमा जाहेरी दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा ११ गते सिपाडोलस्थित वडा कार्यालयनजिकै रोशन बस्नेतको कच्ची इँटा र माटोले बनेको दुई तल्ले गोठको भुइँ तल्लामा रक्ताम्मे अवस्थामा मृत भेटिएका थिए ।

त्यसपछि घटनाको अनुसन्धन अघि बढाएको प्रहरीले सुवाललाई पक्राउ गरेको हो । अनुसन्धानबाट दुई जनाबीच झगडा हुँदा सुवालले ढकालको ज्यान लिएको खुलेको छ ।  

प्रहरीका अनुसार दुईबीच केही दिनअघि भट्टीमा चिनजान भएको र घटनाको दिन सँगै रक्सी खाएका थिए । त्यसपछि उनीहरु दुबै मध्यराति सुवालको घरमा गएको र ढकालको मोबाइलबाट उनकी श्रीमती रेणुलाई फोन गरेर ‘श्रीमान अपहरणमा परेको’ भन्दै ‘प्र्यांक’ गरेका थिए । 

सुवालले रेणुसँग ‘श्रीमान चाहिए दुई लाख लिएर सूर्यविनायकको जंगलमा आउनु’ भनेका थिए । प्रहरी निरक्षक निर्मल थापाले भने, ’मृतककी श्रीमतीले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिएर आउनु भनी आफूलाई फोन आएको सूचना प्रहरीलाई दिनुभएको थियो ।’ 

त्यसक्रममा ढकालले सुवालकी श्रीमती जिस्क्याएपछि झगडा शुरु भएको र सुवालले इँटाले हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । सुवालले ढकाललकोे शव गोठमा छाडेको र भोलिपल्ट बिहानै श्रीमतीसहित भागेर काभ्रेपलाञ्चोक पुगेको अनुसन्धानबाट खुलेको छ ।
 

टिप्पणीहरू