हिजो साढे २५ करोड जरिवाना, आज ६२ करोडको अर्को मुद्दा

हिजो साढे २५ करोड जरिवाना, आज ६२ करोडको अर्को मुद्दा

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६२ करोड बिगो मागदाबीसहित उनीविरुद्ध विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । 

स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनले आफु कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदबापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीबाट कमिशन लिने गरेको पाइएको अख्तियारले जनाएको छ । 

त्यस्तो रकम सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा जम्मा गरेको तथा केही रकम विदेशमै परिचालन गर्ने गरेको पनि तथ्य अख्तियारले फेला पारेको छ । 

पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबी मुद्दा दर्ता गरिएको छ ।

उनीविरुद्ध यसअघि पनि तीन वटा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । हिजो विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार ठहर गर्दै पौडेललाई २ वर्ष कैद सजाय र २५ करोड ४७ लाख रूपैयाँ असुलउपर गर्नुपर्ने आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले विकलले सम्झौताविपरुीत गुणस्तरहीन विद्युतीय ट्रान्सफरमर खरिद गरेको प्रमाणबाट पुष्टि भएको ठहर गर्दै उक्त आदेश सुनाएको हो ।

विकलमाथि अमेरिकाको पीआर लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको साथै अकुत सम्पत्ति आर्जनका अन्य दुई मुद्दा विचाराधीन छन् ।

टिप्पणीहरू