कुटपिटबाट बालकको हात भाँचियो, जनप्रतिनिधि पीडकको बचाउमा

कुटपिटबाट बालकको हात भाँचियो, जनप्रतिनिधि पीडकको बचाउमा
सुन्नुहोस्

मोरङको उर्लाबारी नगरपालिका–५ का वडाध्यक्षमाथि पीडकलाई जोगाएको आरोप लागेको छ । चार वर्षीय बालकमाथि निर्घात कुटपिट गरी हात भाँचिदिएको घटनामा वडाध्यक्ष रविन लामाले पीडकको पक्ष लिएको स्थानीयले आरोप लगाएका हुन् ।

झुम्रहाकी मुना विकले एक साताअघि सोही स्थान बस्ने अबिगेल धिमालको हात भाँचिदिएकी थिइन् । तर,  वडाध्यक्षले मिलापत्रको नाममा घटना सामसुम पार्न खोजेको स्थानीय भन्दै स्थानीयले विरोध जनाएका छन् । 

घटना विवरणअनुसार घटना हुनु केही दिन अघिदेखि धिमाल परिवारले विकको घरमा शरण लिँदै आएका थिए । बालककी आमा शारीरिक रुपमा अपाङ्ग छिन् भने बाबु बिहानैदेखि जाँडरक्सी पिउने गर्दछन् । उज्यालो भएदेखि झगडा गर्ने भएकाले विकले उनीहरुलाई आफ्नो घरबाट निस्केर जान भन्दै आएकी थिइन् । 

तर, उनीहरुले मानेका थिएनन् । सोही निहुँमा गत साता उनले बच्चालाई कुटेको आमा फूलमायाको आरोप छ । कुटाइबाट छोराको हात भाँचिएको उनले बताइन् । 

कुटपिटबाट नाबालक छोराको अंगभंग पारिदिएको भन्दै फूलमायाले दिएको जाहेरीका आधारमा प्रहरीले विकलाई पक्राउ गर्यो । तर, वडाध्यक्ष लामाले छुटाएको फूलमायाको भनाई छ । भोलिपल्ट वडा कार्यालयले छलफलमा बोलाएको र मिलापत्र गर्न दबाब दिएको  उनले गुनासो गरिन् ।

यता, वडाध्यक्ष लामाले भने आफूमाथि लगाएको आरोपको खण्डन गरेका छन् । वडा कार्यालयका सदस्य, स्थानीय, प्रहरीलगायतलाई राखेर मिलापत्र गराइएको उनको भनाइ छ । बुवाआमाको झगडाका क्रममा छोराको हात भाँचिएको उनले दाबी गरे । 

‘यो घटनामा मिलापत्र भइसकेको छ । त्यो दिन बाबुको बुवाआमाबीच झगडा भइरहेको रहेछ । सो क्रममा उनले बालकलाई बचाउन खोजेकी रहेछिन् । बालकको हातमा चोट लागेछ । त्यसपछि हामीले बाबुको उपचार गरायौं । उहाँहरु प्रहरीकहाँ जानुभएको थियो । हामीले पाँच पक्ष राखेर मिलापत्र गराएका हौ । स्थानीयले पनि यो कुटपिट होइन् भन्नुभएको छ’, वडाध्यक्ष लामाले भने ।

टिप्पणीहरू