पञ्चकोट महायज्ञको हिसाब गोलमाल, धर्मका नाममा व्यक्ति मोटाएको भन्दै छानविन माग

पञ्चकोट महायज्ञको हिसाब गोलमाल, धर्मका नाममा व्यक्ति मोटाएको भन्दै छानविन माग

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा लगाइएको ब्राह्मण्डीय महायज्ञमा उठेको रकम घोटाला भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । आयोजकले महायज्ञको हिसाबकिताब सार्वजनिक गरेलगत्तै स्थानीय आक्रोशित भएका हुन् ।  

आयोजकले केही दिनअघि भेला बोलाएर आम्दानी र खर्च विवरण सार्वजनिक गरेका थिए । जसअनुसार १० दिन महायज्ञ गर्दा १२ करोड १५ लाख ५५ हजार ९७४ संकलन भएको र चार करोड २२ लाख ५७ हजार ४८१ रुपैयाँ खर्च भएको हिसाब देखाइएको छ । बागलुङपछि राजधानी केन्द्रीत कार्यक्रम गर्दा लाखौं रुपैयाँ खर्च भएको पनि अमूर्त हिसाब जनाइएको छ । 

अर्कोतिर, एक करोड ७७ लाख ६६ हजार २४० रुपैयाँमा धान बिक्री गरेको उल्लेख छ । तर, आम्दानीमा भने धान बिक्रीबापत एक करोड २० लाख रुपैयाँ मात्र लेखिएको छ । बाँकी ५७ लाख ६६ हजार २४० रुपैयाँको हिसाब गोलमाल देखिन्छ । पछि फिर्ता गर्ने शर्तमा तराईबाट ल्याइएको धानसमेत बेचेर अपारदर्शी हिसाब देखाइएकाले आयोजकले ठूलो घोटाला गरेको स्थानीयको आशंका छ । 

श्रीकृष्णागण्डकी, शालग्राम र समग्र मुक्ति क्षेत्रको महिमालाई लोकोत्त गर्ने, गोवंशको संरक्षण गर्ने र गर्न प्रेरणा प्रदान गर्ने, पञ्चकोटमा जलसम्पदा संरक्षणको प्रतीकस्वरूप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने, नैतिक, शिष्ट, समुन्नत र सचरित्रवान् समाजको पुनर्जागरण गर्ने र यज्ञमा शेष रहेको रकम सर्वसिद्धिधाम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गर्ने उद्देश्यसहित गत फागुनमा महायज्ञको आयोजना गरिएको थियो । 

आयोजकले निकै तामझामका साथ भिआइपीहरुलाई उपस्थित गराएर महायज्ञको उद्धघाटन गराएका थिए । महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वअर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलगायतका उच्च पदस्थहरु सहभागी भएका थिए । 

यता, पञ्चकोटलाई धार्मिक पर्यटकीय केन्द्र बनाउने भन्दै शुरु गरिएको ‘विश्व शान्ति गण्डकी कलश’ निर्माण कार्य अहिले ठप्प छ । त्यसमा पनि ठूलै आर्थिक हिनामिना भएको स्थानीय बताउँछन् । धर्मको नाममा रकम उठाएर केही व्यक्ति मोटाएको दाबी गर्दै स्थानीयले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

टिप्पणीहरू