प्रधानमन्त्रीले जवाफ दिँदा कता हराउनुभयो एमाले अध्यक्ष केपी ओली ?

प्रधानमन्त्रीले जवाफ दिँदा कता हराउनुभयो एमाले अध्यक्ष केपी ओली ?

बैठक चलेका बेला सदनमा सांसदहरुको उपस्थिति कानुनी मात्र नभई राजनीतिक र नैतिक दृष्टिले पनि अनिवार्य मानिन्छ  । तर,अधिकांश सांसद भने आफैँले बनाएको नियमावलीको व्यवस्था विपरित पूर्वसूचना नै नदिई सदनमा अनुपस्थित हुने गरेका छन् । बैठकमा अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने नियमावलीको व्यवस्था कुल्चिएर सांसदहरु बैठकमा नजाने प्रवृत्ति पछिल्लो समय झन् बढिरहेको छ ।

कानुन निर्माणको थलो सदनमा गणपुरक सङ्ख्या नपुगेका कारण धेरैचोटी बैठक नै स्थगित भएका छन् । संसद सचिवालयको रेकर्ड हेर्दा खासगरी ठूला दलका शीर्ष नेता,व्यापारिक पृष्ठभूमिका सांसदहरुको बैठकमा बढी अनुपस्थिति हुने गरेको देखिन्छ । त्यस्तै, हाजिर लगाएर टाप कस्ने प्रवृत्ति पनि उस्तै छ । यसले एकातिर संसदको गरिमा घटाएको छ भने संगसंगै सदनको कामकारवाही प्रभावित हुने गरेको छ ।    

यसैबीच प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन बैठकमा दलका शीर्ष नेता,मन्त्री र सांसदहरु अनिवार्य उपस्थित हुने परम्परा समेत तोडिएको छ । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । ११ जना सांसदले सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालैपालो जवाफ दिनुभयो । तर,प्रधानमन्त्री बोलिरहँदा संसदका अधिकांश कुर्सी भने खालि थिए । बैठकमा मन्त्रीहरुसमेत उपस्थित भएनन् ।

"सत्ता गठबन्धनका दलहरु बीच अविश्वास बढेको चर्चा भैरहँदा प्रधानमन्त्रीले असन्तुष्टि नै जनाउनुपर्ने गरी सत्तापक्षकै मुख्य नेताहरु सदनमा अनुपस्थित हुनुले थप आशंका बढाएको छ ।" 

आफ्नो सम्बोधनका क्रममा सत्तापक्षकै नेता र सांसदहरुकै कम सहभागिता रहेकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री प्रचण्डले गुनासो गर्नुभयो । यसले प्रधानमन्त्री पदकै अवमूल्यन गरेको भन्दै उहाँले स्थापित संसदीय मान्यता तोडिएकोप्रति चिन्ता पनि जनाउनुभयो । 

‘हाम्रो सदनको एउटा परम्परा,प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष र प्रतिपक्षका सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो', उहाँले भन्नुभयो, 'तर, क्रमशः त्यो पातलिन थालेको छ । अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ ।’

सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ आजको बैठकमा उपस्थित थिएनन् । अर्का उपप्रधानमन्त्री रवि लामिछानेको भने बैठकमा उपस्थिति थियो । 

सत्ता पक्षका प्रभावशाली नेता र मन्त्रीहरु अनुपस्थित रहेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने सहभागी हुनुहुन्थ्यो, तर उहाँ पनि प्रधानमन्त्री बोलिरहेका बेला फुत्त बाहिर निस्कनुभयो । 

पछिल्लो समय सत्ता गठबन्धनका दलहरु बीच अविश्वास बढेको चर्चा भैरहँदा प्रधानमन्त्रीले असन्तुष्टि नै जनाउनुपर्ने गरी सत्तापक्षकै मुख्य नेताहरु सदनमा अनुपस्थित हुनुले थप आशंका बढाएको छ । खासगरी सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिले त्यस्तो आशंका उब्जाएको हो । 

प्रतिनिधिसभा बैठकमा नजाउनुभएका एमाले अध्यक्ष ओली कुनै महत्वपूर्ण कार्यक्रममा नभई बालकोटस्थित निवासमै रहेको बुझिएको छ । जानकार स्रोतले दिएको जानकारीअनुसार बिहान ८ बजे निवासबाट निस्कनुभएका उहाँ दिउँसो १ बजे निवास फर्किनुभएको थियो । प्रधानमन्त्रीले संसदमा आफ्नो सम्बोधन टुंग्याएको दिउँसो २ बजे हो । 

एमाले अध्यक्षको विश्वासपात्र अर्को पार्टीका मन्त्रीबाट दिउँसो १ बजेपछि ओली आफ्नै निवासमै रहेको कुरा प्रधानमन्त्रीको कानमा पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू