गृहमन्त्रीविरुद्धको सहकारी ठगी मुद्दामा अन्तिम सुनुवाई अनिश्चित

गृहमन्त्रीविरुद्धको सहकारी ठगी मुद्दामा अन्तिम सुनुवाई अनिश्चित
सुन्नुहोस्

गृहमन्त्री रवि लामिछानेविरुद्धको सहकारी बचत ठगी मुद्दामा सर्वोच्च अदालतमा हिजो पनि सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा राखिएकाले मुद्दाको अन्तिम सुनुवाई तय भएको छैन । 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलास नम्बर २ मा हिजो भएको सुनुवाई पनि नसकिएको हो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको जिकिरसहित उनलाई पदबाट निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । 

यो मुद्दा यसअघि कहिले हेर्न नमिल्ने, कहिले हेर्न नभ्याइनेमा परेको र दुई पटक सुनुवाई स्थगितसमेत भइसकेको छ । यसअघि असार ७ गते पनि हेर्दाहेर्दैमा राखिएको थियो । ११  दिनपछि हिजो सुनुवाई भएको हो ।

रिटमा कास्की,रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ ।

उक्त पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने जिकीर गर्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर माग गरिएको छ ।

टिप्पणीहरू