भुक्तानी नलिएपछि केन्द्रीय बैंकमा हिसाब मिलाउन झमेला

भुक्तानी नलिएपछि केन्द्रीय बैंकमा हिसाब मिलाउन झमेला

नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा जारी गरिएका बचतपत्रमा लगानी गरेका लगानीकर्ताहरुलाई हालसम्म पाकेको ब्याज र अवधि पुगेको लगानी रकम बुझ्न आग्रह गरेको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरु चालु आर्थिक वर्षमा परिपक्व भइसकेको साँवा वा आर्जित ब्याज रकमको भुक्तानी लिन नआएपछि बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकले बचतपत्र धनीहरुलाई आफ्नो परिपक्व भएको साँवा ब्याज भुक्तानी लिन आग्रह गरेको छ । ‘नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीहरुले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको साँवा वा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकोले यथाशीघ्र भुक्तानी लिनहुन सम्बन्धित सबै बचतपत्र धनीलाई अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ । 

नागरिक बचतपत्र नागरिकबाट मध्यम तथा दीर्घकालिन अवधिका लागि आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरिने सरकारी ऋणपत्र हो । यसको अवधि सरकारले निर्धारण गर्दछ । 

त्यस्तै, मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्र वैदेशिक रोजगार बचतपत्र हो । 

यस्तो बचतपत्र विदेशबाट र विदेशमा आर्जित रकम वैधानिक माध्यमबाट स्वदेश ल्याएको प्रमाण पेश गरेमा समेत खरिद गर्न सकिन्छ ।

टिप्पणीहरू