सहकारीका ऋणीले कर्जा पुर्नतालिकीकरण गर्न पाउने

सहकारीका ऋणीले कर्जा पुर्नतालिकीकरण गर्न पाउने

गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले ५० प्रतिशत ब्याज भुक्तानी गरे तीन महिनाका लागि कर्जा पुर्नतालिकीकरण गर्न पाउने भएका छन् । 

सहकारी विभागद्धारा आज जारी छ बुँदे निर्देशनमा यसअघि यस्तो सुविधा नलिएका ऋणीले उक्त सुविधा पाउने उल्लेख छ । पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाका लागि पुर्नतालिकीकरण गर्न सकिने विभागले प्रष्ट पारेको छ । 

‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यहरुलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यता समेतको आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीका लागि कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुर्नतालिकीकरण गर्न सकिने,’ विभागको निर्देशनमा भनिएको छ । 

पुर्नतालिकीकरणपश्चात् कर्जा नोक्सानी व्यवस्थाबाट ‘राइटब्याक’ हुने अवस्था आएमा र ‘राइटब्याक’ गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्नुपर्ने पनि विभागले जनाएको छ । 

विभागले लेखाङ्कन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण नगर्न सहकारी संस्थालाई निर्देश गर्दै पुर्नतालिकीकरण गरेबापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क तथा हर्जना नलिन समेत चेतावनी दिएको छ । 

त्यस्तै, पुर्नतालिकीकरण गरिएका कर्जाको किस्ता लगातार छ महिनासम्म नियमित भएपश्चात् त्यस्ता कर्जाको कर्जा नोक्सानी व्यवस्थाबाट ‘राइटब्याक’ गरिएको रकम मात्र छुट्याई सञ्चित मुनाफा खातामा लेखाङ्कन गर्नुपर्ने पनि विभागको निर्देशन छ । 

विभागले ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यको बचत रकम समयमा फिर्ता गर्न समेत सहकारी संघसंस्थालाई आग्रह गरेको छ । 

साथै, ऋणीले आर्थिक वर्ष २०८०-०८१ को ब्याज आगामी साउन १५ गतेभित्र भुक्तानी गरेमा आवको आयको रुपमा गणना गर्न सकिने गर्न भनिएको छ । विभागले निर्देशनविपरीत कार्य गरेको पाइएमा कानूनबमोजिम कारबाही गरिने समेत चेतावनी दिएको छ ।

टिप्पणीहरू