दोहोरो पद त्याग्न सहकारी सञ्चालकहरुलाई एक महिने अल्टिमेटम

दोहोरो पद त्याग्न सहकारी सञ्चालकहरुलाई एक महिने अल्टिमेटम

सहकारी विभागले एक व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारीको सञ्चालक बन्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने भएको छ । 

एउटै व्यक्ति विभिन्न सहकारीको सञ्चालक रहेको व्यापक गुनासो आएपछि विभागले दुई वा सोभन्दा बढी सहकारीमा सञ्चालक भएमा तत्काल जिम्मेवारी त्याग्न निर्देशन दिएको हो । विभागले आज सहकारी संस्थाहरुको हकमा निर्देशन जारी गर्दै एकभन्दा बढी सहकारीको सञ्चालकमा नबस्न भनेको छ । 

यदि त्यस्तो भएमा ३० दिनभित्र त्याग्न विभागले भनेको छ । सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा एक समयमा एकमात्र सहकारीको सञ्चालक रहन पाउने व्यवस्था रहेको उल्लेख गर्दै विभागले त्यसको अनिवार्य पालना गर्न सूचित गराएको छ । 

निर्देशनमा भनिएको छ,‘सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने व्यवस्था रहेकोले सोको पूर्ण परिपालना गर्नु–गराउनुहुन यो निर्देशन जारी गरिएको छ । यदि कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ ।’

तोकिएको समयमा दोहोरो पद नत्यागेमा कारबाही गरिने विभागको चेतावनी छ ।

टिप्पणीहरू