राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै स्थानीय तहमा स्टेशन

राष्ट्रिय परिचयपत्रका लागि काठमाडौंका सबै स्थानीय तहमा स्टेशन
सुन्नुहोस्

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता स्टेशन सञ्चालन गर्ने भएको छ । 

राष्ट्रिय परिचयपत्र बनाउन आउनेको चाप बढेपछि प्रशासनले स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाएको हो । प्रशासनले आज सूचना जारी गर्दै सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । 

महानगरपालिकाको हकमा राष्ट्रिय सभागृहमा स्टेशन स्थापना गरिएको प्रशासनले जनाएको छ । 

‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा सेवाग्राहीहरुको अत्याधिक चापलाई मध्यनजर गर्दै काठमाडौं जिल्लास्थित सबै नगरपालिकाको कार्यालयमा रहनेगरी (काठमाडौं महानगरको हकमा राष्ट्रिय सभागृहमा रहेको) राष्ट्रिय परिचयपत्र स्टेशन स्थापना गरी कार्य सञ्चालनको व्यवस्था गरिएको हुँदा सम्बन्धित सेवाग्राहीहरुले आफूलाई पायक पर्ने नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्नुहुन अनुरोध छ’,सूचनामा उल्लेख छ । 

काठमाडौं स्थायी ठेगाना भएका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीका लागि प्रशासनमा छुट्टै विवरण दर्ता स्टेशन स्थापना गरिएको जानकारी दिइएको छ । त्यस्तै, अन्य जिल्लाका हकमा नारायणहिटी दरबार (साविकको राहदानी विभाग) बाट सेवा दिइनेछ । 

सरकारले सामाजिक सुरक्षालगायत विभिन्न सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मुलुकभरको जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लागेको छ ।
 

टिप्पणीहरू