प्रचण्डलाई खुट्टा नकमाउन माधव नेपालको सुझाव

प्रचण्डलाई खुट्टा नकमाउन माधव नेपालको सुझाव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई संसद्को सामना गरेर अघि बढ्न सुझाव दिनुभएको छ । 

सरकारलाई आफ्नो पार्टीको समर्थन यथावत रहेको जनाउँदै उहाँले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको हो । ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ', महाधिवेशनस्थलबाट अध्यक्ष नेपालले भन्नुभयो । 

पार्टीहरुबीचको सम्बन्धलाई कायम राख्न र संसदलाई बलियो बनाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टी त्यसनिम्ति सकारात्मक भूमिका खेल्न तयार रहेको स्पष्ट पार्नुभयो । लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्दै परिवर्तनको गति बढाउनुपर्ने अध्यक्ष नेपालको भनाई छ ।

नेकपा एमालेले समर्थन फिर्ता लिएर सरकार छोडेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नुभएको छ । नयाँ सरकार गठनको तयारीमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले मार्गप्रशस्त गर्न आग्रह गरेपनि संसद्को सामना गर्ने प्रधानमन्त्रीको तयारी छ । 

यस्तो स्थितिमा अध्यक्ष नेपालले संसद्को सामना गर्ने आँट राख्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो ।

टिप्पणीहरू