मनसुनजन्य विपद्बाट २५ दिनमा ४७ जनाको मृत्यु

मनसुनजन्य विपद्बाट २५ दिनमा ४७ जनाको मृत्यु
सुन्नुहोस्

नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनाबाट ४७ जनाको ज्यान गएको छ । 

आज राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सो जानकारी गराएका हुन् । 

जसमध्ये बाढीका ५५ वटा घटनाबाट चार जनाको मृत्यु, एक जना बेपत्ता र दुई जना घाइते भएका छन् । त्यस्तै, पहिरोबाट २४ जनाको मृत्यु, १९ जना घाइते र भारी वर्षाका कारण चार जना घाइते भएको मन्त्री अर्यालले जानकारी दिए । 

बाढी, पहिरोबाट ४६ वटा घरमा पूर्ण क्षति पुग्दा ३६ वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, ९३ वटा चट्याङका घटनाबाट ३२ जिल्ला प्रभावित हुँदा १९ जनाको मृत्यु र ३५ जना घाइते भएको विवरण छ । विपद्का सबै घटनाबाट १७१ पशुचौपायाको मृत्यु भएको छ । 

मन्त्री अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भई कार्यान्वयनमा ल्याइएको जानकारी दिएका छन् । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आँकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुने गरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको पनि त्यसक्रममा जानकारी गराइयो ।

 

टिप्पणीहरू