बिरामीको सेवामा तल्लिन पुरुष नर्स

बिरामीको सेवामा तल्लिन पुरुष नर्स

-गणेश लम्साल

नर्स भन्नेबित्तिकै सबैले महिला स्वास्थ्यकर्मी भन्ने बुझ्छन् । पुरुष नर्सभन्दा अझैपनि धेरैले अचम्म मान्छन् । पछिल्लो समय अस्पतालहरुमा पुरुष नर्सहरुले पनि सेवा दिन थालेका छन् । 

मोरङको बुढीगंगा गाउँपालिका २ स्थित बिराट मेडिकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा सबै पुरुष नर्स छन् । विभागमा दैनिक ३० जना बिरामी उपचारका लागि भर्ना हुने गरेका छन् । 

ती बिरामीको सेवामा सँधै सबै पुरुष नर्स खटिएको पाइन्छ । शान्त र नम्र रुपमा उनीहरुले बिरामीको सेवा गरेको बिरामीहरु बताउँछन् । रातको समयमा पनि बिरामीको जाँच गर्ने, औषधि खुवाउने, रगत झिक्ने, रेकर्ड राख्ने, ईसीजी गर्ने र शौच गरे–नगरेको हेर्ने, डाक्टरहरुलाई बिरामीको अवस्था ब्रिफिङ्ग गर्ने, बिरामी र उनका कुरुवालाई काउन्सिलिङ्ग गर्नेलगायत काम उनीहरुले जिम्मेवारीपूर्वक गर्दै आएको अस्पताल प्रशासनको भनाई छ । 

उनीहरुले सिकिस्त बिरामीलाई दिसा पिसाब गराउने, शौचालयसम्म लैजाने–ल्याउने, कपडा फेरिदिने, औषधि खान नमान्ने बिरामीलाई धुलो बनाएर खुवाउनेसमेत गर्दछन् । उत्कृष्ट सेवाकै कारण अस्पतालले विभागमा सबै पुरुष नर्स भर्ना गरिएको दाबी छ । स्वास्थ्य सहायक अध्ययन गरेका तालिमप्राप्त नर्सहरुको सेवाबाट बिरामी र तिनका कुरुवा निकै सन्तुष्ट देखिन्छन् । 

नर्स भएर बिरामीको सेवा गर्नु सजिलो काम होइन । यसका लागि शिक्षाको डिग्री मात्र भएर पुग्दैन । पूर्ण नर्स हुन मृदृभाषी, लगनशील र जिम्मेवार हुनैपर्छ । अझ मानसिक रोगीहरुको सेवा गर्ने काम कष्टकर र जोखिमपूर्ण हुन्छ । 

उपचारका लागि भर्ना भएका बिरामीहरु कोही मानसिक रुपमा विक्षिप्त हुन्छन् भने कोही चिच्याउने–कराउने, होहल्ला गर्ने, कुटपिट गर्ने खालका हुन्छन् । प्रायः बिरामीले आफूलाई बिरामी ठान्दैनन् । औषधि र खाना पनि खान चाहँदैनन् । कतिपय अस्पतालको बेडबाटै भागेका छन् ।

बिरामी जाँचेर औषधि लेख्ने दक्षता हासिल गरेपनि थप अनुभव हासिलका लागि जोखिम मोलेर नर्स बनेको निरजकुमार देव बताउँछन् । मानसिक विभागमा कार्यरत उनी भन्छन्, ‘हामीसँग बिरामी जाँचेर औषधि लेखिदिने दक्षता छ । थप अनुभव हासिल गरेर दक्ष स्वास्थ्यकर्मी बन्नका लागि जोखिम मोलेर नर्स बनेका हौं’ । 

विभागमा उनीजस्तै विजय राजवंशी, मनोज मेहेता, प्रशान्त ठाकुर, नितेशकुमार मेहेता, सिकन्दर यादवलगायत कार्यरत छन् । सबै बिरामीलाई समान ढंगले सेवा गर्ने गरेको नर्स मनोज बताउँछन् । भन्छन्, ‘हामी पुरुष मात्र नभएर महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त बिरामीहरुको उपचार गर्छौं । हामीले कसैलाई भेदभाव गर्दैनौं । कडा र जटिल खाले बिरामीहरुको झर्को नमानी सेवा गर्छौं । बिरामी र उनका कुरुवाहरु हाम्रो सेवादेखि सन्तुष्ट देखिनुहुन्छ । सबैले प्रशंसा नै गर्नुहुन्छ ।’

नर्स प्रशान्तका अनुसार कतिपय बिरामी होशमा नै हुँदैनन् । उनीहरुले कुटपिट गर्ने र आफूहरुमाथि हिंस्रक व्यवहार गर्ने उनको अनुभव छ । कतिपयले आत्महत्यासमेत गर्न खोज्ने उनी बताउँछन् । आफूहरुको सजगता र धैर्यताकै कारण आजसम्म कुनै अप्रिय घटना हुन नपाएको नर्स सिकेन्दरको भनाई छ । पुरुष नर्सहरुले प्रभावकारी सेवा दिइरहेको मानसिक विभागका रेसिडेन्सियल इञ्जार्ज डा. शीर्षकदिप श्रेष्ठले बताए । 

अस्पतालमा दुई सयभन्दा बढी पुरुष नर्स 

केही वर्ष अघिसम्म अस्पतालमा महिला नर्स मात्र थिए । महिलाहरु मात्र नर्सका लागि योग्य हुन्छन् भन्ने मान्यतालाई तोड्न उच्च शिक्षामा पुरुषहरुलाई कोटा निर्धारण गरेर अस्पतालमा पठनपाठन गराउन थालिएको हो । 

सहजै रोजगारी पाइने, मानसम्मान पनि बढ्ने भएकाले हिजोआज तीन वर्षे स्टाफ नर्स र चार वर्षे ब्याचलर अफ नर्सिङ्ग (बिएन) कोर्ष पढ्न पुरुषहरु पनि आकर्षित हुन थालेका छन् । यता, अस्पतालले मानसिक विभागमा मात्र नभएर आकस्मिकदेखि विभिन्न विभागमा पुरुष नर्स भर्ना गरेको छ । हाल अस्पतालमा दुई सयभन्दा बढी पुरुष नर्स कार्यरत छन् ।

टिप्पणीहरू