लिम्चुङबुङमा पहिले मदिरा,अहिले वाइवाइ बर्जित

लिम्चुङबुङमा पहिले मदिरा,अहिले वाइवाइ बर्जित
सुन्नुहोस्

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आयातित पेयपदार्थ,मदिराजन्य र सूर्तीजन्य पदार्थपछि चाउचाउलगायतका ‘जंकफुड’ मा प्रतिबन्ध लगाउने तयारी थालेको छ । गाउँपालिकाले वाइवाइजस्ता तयारी चाउचाउ र अन्य प्याकेटका खानेकुराको किनबेचलाई निषेध गर्न लागिएको जानकारी दिएको छ ।  

कार्यपालिकाको १८ औं बैठकले शिशाजन्य मदिरा तथा पेयपदार्थहरु (बियर, रक्सी,डिउ,कोक,फ्यान्टा, रेडबुल,सूर्तीजन्य पदार्थ, चुरोट,गुट्खा) आदिको किनबेचमा रोक लगाएको छ । स्थानीयको आर्थिक अवस्था सुधार्न,स्वास्थ्य समस्याबाट बचाउन, महिलामाथि हुने घरेलु हिंसा रोक्न,स्थानीय स्तरमै उत्पादित वस्तुको प्रयोगलाई जोड दिन सो निर्णय गरिएको गाउँपालिका अध्यक्ष मेजरकुमार राई बताउँछन् ।

चाउचाउलाई प्रतिबन्ध लगाउन गाउँपालिकामा छलफल गर्ने उनले जानकारी दिए । ‘शहरबाट आयातित वस्तुले स्थानीय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्यो । अर्कोतिर, रक्सी खाने,महिलामाथि हिंसा गर्ने क्रम बढ्यो । पैसा  सकिने,रोग पनि लाग्ने भएकाले प्रतिबन्ध लगाएका हौं । अब विस्तारै तयारी चाउचाउमा पनि प्रतिबन्ध लगाउँछौं । यसबारे गाउँपालिकामा छलफल गर्छौं । के गर्दा स्थानीयको हित हुन्छ,हामी यसमा निकै गम्भीर छौं’, उनले भने ।

रक्सी खाने,महिलामाथि हिंसा गर्ने क्रम बढ्यो । पैसा  सकिने,रोग पनि लाग्ने भएकाले प्रतिबन्ध लगाएका हौं । अब विस्तारै तयारी चाउचाउमा पनि प्रतिबन्ध लगाउँछौं । 

तयारी चाउचाउलाई मन्द विष भनिन्छ । छिटो–मीठो खाजाको रुपमा परिचित चाउचाउले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने गरेको छ । चाउचाउले उच्च रक्तचाप,मधुमेह, क्यान्सरलगायतका रोग निम्त्याउने चिकित्सकहरुको दाबी छ । 

काठमाडौं महानगरपालिकाले केही समयअघि विवादास्पद व्यापारी तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको ‘वाइवाइ’ चाउचाउमा क्यान्सरका घातक रसायन भेटेको थियो । 

गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्याधिक बढी पाएपछि कम्पनीलाई दुई लाख रुपैयाँ जरिवानासमेत तिराइएको थियो । त्यस्तै,वाइवाइको ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो । त्यसअघि धरान उपमहानगरपालिकाले पनि ‘वाइवाइ’ चाउचाउलाई कारबाही गरेको थियो । 

वाइवाइमा स्वास्थ्यलाई हानी हुने रसायन भेटिएपछि चितवनको इच्छाकामना गाउँपालिकाले उक्त चाउचाउमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । यता,बागलुङको गल्कोट नगरपालिका ४ ले वाइवाइको किनबेचमा रोक नै लगाइसकेको छ । 

आफ्नो उत्पादनमाथि धमाधम प्रतिबन्ध लागेपछि चौधरीका जेठा छोरा एवम् सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वभर लोकप्रिय भएको वाइवाइविरुद्ध नेपालमा ‘प्रोपोगाण्डा’ मच्चाइएको बताएका थिए । उनले सामाजिक सञ्जालमा वाइवाइलाई बद्नाम गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

टिप्पणीहरू