गण्डकीमा बेमौसमी कर्मचारी सरुवा

गण्डकीमा बेमौसमी कर्मचारी सरुवा
सुन्नुहोस्

-यदुनाथ बञ्जारा

राजनीतिक अस्थिरतासँगै गण्डकी प्रदेश सरकारमा कर्मचारी सरुवाले तीव्रता पाएको छ । मन्त्रीको स्वार्थअनुकूल कर्मचारी सरुवा गर्न थालिएको बताइन्छ । 

नयाँ आर्थिक वर्षको शुरुवातपछि हुने कर्मचारी सरुवा असार महिनाको मध्यदेखि गर्न थालेपछि कर्मचारीहरुबाटै विरोध भएको छ । मन्त्रीको लहडमा गरिएको सरुवाले कर्मचारी संयन्त्रमा विचलन ल्याउने उनीहरुको भनाई छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव टिकाराम पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे । यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले उनलाई मुख्यमन्त्रीको कार्यालयमा ल्याएर त्यहाँ कार्यरत प्रदीपकुमार रेग्मीलाई यातायात मन्त्रालयमा पठाएका थिए । यातायातमन्त्री राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गेको चाहनाअनुसार त्यतिबेला मन्त्रालयबाट पौडेललाई ‘आउट’ र रेग्मीलाई ‘इन’ गरिएको बताइन्छ ।

त्यस्तै, यातायात व्यवस्था कार्यालय, कास्कीका प्रमुख (उपसचिव) डिल्लीराम रिजाललाई असार १८ गते मुख्यमन्त्रीको कार्यालय तानिएको छ । उनको ठाउँमा घरेलु तथा पर्यटन कार्यालय (पूर्वी नवलपरासी) का प्रभाकर अधिकारीलाई ल्याउने तयारी रहेको स्रोत बताउँछ । रिजाललाई बेमौसमी सरुवा मात्र गरिएको छैन्, उनलाई कार्यालयबाट छिटो पन्छाउन मन्त्रालयले शाखा अधिकृत अशोक गौतमलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पत्रसमेत थमाइसकेको बुझिएको छ । 

बहालवाला प्रमुखले बरबुझारथ गरेपछि रमाना लिने समयको समेत ख्याल नगरी हतारमा अर्को निमित्त तोकिनुमा मन्त्रीको स्वार्थ रहेको स्रोतको दाबी छ । कुनैपनि कार्यालय प्रमुखको सरुवापछि रमाना बुझ्ने समय निजामती सेवा नियमावलीमा उल्लेख छ । प्रमुखले रमाना लिएर गएपछि अर्को प्रमुख हाजिर नभएसम्मका लागि उक्त कार्यालयमा कार्यरतमध्ये वरिष्ठ कर्मचारीले स्वतः निमित्त भई काम गर्ने प्रावधान छ । 

तर, कार्यालय प्रमुख सरुवा भएको तीन दिन नबित्दै निमित्तको पत्र शाखा अधिकृत गौतमको नाममा पठाइएपछि अनेक आशंका गरिएको हो । आर्थिक मसान्त सकिन १० दिन मात्र बाँकी हुँदा हतारिएर सरुवा गर्नु र बरबुझारथ गरी रमानासमेत नलिँदै निमित्त तोकेर पत्र पठाउनुले आशंकालाई बल मिलेको सहजै अनुमान गर्न सकिन्छ ।

यसअघि रिजालले यातायात व्यवस्था कार्यालयबाट चुस्त सेवा प्रवाहको व्यवस्था मिलाएको बताइन्छ । सवारी साधनको अभिलेख डिजिटलाइजेसनको व्यवस्था उनैले गरेका हुन् । यसबाट बिचौलियाको चलखेल कम भएको धेरैको अनुभव छ ।

मुलुकको मौजुदा कानुनबमोजिम सेवा प्रवाह गर्नुपर्ने मान्यताका साथ आफूले काम गर्दै आएको रिजाल बताउँछन् । त्यसैले उनी यसअघिका अन्य प्रमुखको तुलनामा कम विवादमा परेका हुन् । 

सरुवाको कारण राइड सेयरिङ नियमन

यातायात व्यवस्थापन समिति, कास्कीको निर्णयअनुसार कार्यालयले असारको पहिलो साता राइड सेयरिङमा रोक लगाउने सूचना जारी गर्यो । विदेशमा दर्ता रहेको एपमार्फत् राइड सेयरिङ व्यवसाय गर्नु कानुनविपरीत रहेको उल्लेख गर्दै रोक लगाइएको सूचना जारी गरेपछि मन्त्री मनाङ्गेले असन्तुष्टि जनाएका थिए । 

उनको सरुवाको मुख्य कारण राइड सेयरिङमाथिको कडा नियमन रहेको चर्चा चलेको छ । राइड सेयरिङ कम्पनी र राइडरहरुले व्यवसाय सञ्चालनका लागि मन्त्रीसँग लबिङ गर्दै आएको कर्मचारीहरु बताउँछन् । 

मुख्यमन्त्रीको कार्यालयले उनलाई सरुवा गरेपनि त्यस ठाउँमा कसलाई ल्याउने भन्ने टुंगो लगाइएको छैन । पर्यटन कार्यालयका प्रमुखलाई ल्याउने हल्लासँगै साउनमा सरुवा हुने स्रोतको दाबी छ ।

प्रदेश सरकारको अवस्था सँधै अस्थीर छ । त्यसैले मन्त्रीहरु कर्मचारी सरुवामा हतारिएकाले मनमौजी गर्न थालिएको बताइन्छ । विधि र प्रक्रियाको आधारमा हुनुपर्ने कर्मचारी सरुवा जथाभावी हुन थालेपछि कर्मचारी संयन्त्र बिथोलिने र भत्किने निश्चित रहेको प्रशासनविद्हरुको भनाई छ ।

टिप्पणीहरू