जताततै बाढी पहिरो, सर्वसाधारणको भान्छा महँगियो

जताततै बाढी पहिरो, सर्वसाधारणको भान्छा महँगियो
सुन्नुहोस्

देशभर मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले राष्ट्रिय राजमार्गसहित ग्रामीण सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । 

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार यतिबेला सबैजसो तरकारीको भाउ निकै महँगो भएको छ । सबैभन्दा धेरै मूल्यवृद्धि च्याउ, मुलालगायत तरकारीमा भएको छ । समितिका अनुसार ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको छ । 

अघिल्लो आइतबार ठूलो गोलभेडा प्रतिकेजी ७५ रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, सानो गोलभेडा (लोकल) असार १५ गतेसम्म प्रतिकिलो २१ रुपैयाँ रहेकोमा अहिले ४४ रुपैयाँ पुगेको छ । 

आलुको पनि मूल्यवृद्धि भएको छ । एक साताअघि रातो आलुको भाउ प्रतिकिलो ६१ रुपैयाँ रहेकोमा आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ । यता, सुकेको प्याज ९४ रुपैयाँ, गाजर ६४ रुपैयाँ, बन्दा ३५ रुपैयाँ र स्थानीय काउली ६५ रुपैयाँ प्रतिकेजी पुगेको समितिले जनाएको छ ।

ज्यापु काउली ८७ रुपैयाँ, सेतो मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ, डल्लो भन्टा ७५ रुपैयाँ, तनेबोडी ५६ रुपैयाँ, मकैबोडी ८५ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै, लोकल र हाइब्रिड दुवै घिउसिमी एक सय रुपैयाँ, भटमास कोसा ८६ रुपैयाँ, तिते करेला ५६ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । 

लौका ५५ रुपैयाँ, भिण्डी ७२ रुपैयाँ, रायोको साग ९६ रुपैयाँ, च्याउ (कन्ये) १६४ रुपैयाँ, डल्ले च्याउ तीन सय रुपैयाँ र कुरिलो २२५ रुपैयाँ प्रतिकिलो रहेको छ । एक साताअघि कन्ये च्याउको भाउ प्रतिकेजी एक सय रुपैयाँ थियो भने डल्ले च्याउ २२० रुपैयाँ थियो ।

 

टिप्पणीहरू