सञ्चारमन्त्रीसमक्ष पत्रकारहरुको तलब नबढेको गुनासो

सञ्चारमन्त्रीसमक्ष पत्रकारहरुको तलब नबढेको गुनासो

क्रियाशील पत्रकारहरुको साझा मोर्चाले श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्दिका लागि सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकारको तलब बढाउन मोर्चाले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गको ध्यानाकर्षण गराएको हो । 

विगत ६ वर्षदेखि श्रमजीवी पत्रकारको पारिश्रमिक वृद्दि नभएको मोर्चाको गुनासो छ । त्यसैगरी, पत्रकारको बक्यौता तलब तथा चाडपर्व भत्ता तत्काल भुक्तानीका लागि सञ्चारगृहलाई निर्देशन दिन मन्त्री गुरुङ्गसमक्ष आग्रह गरिएको छ । मोर्चाले पत्रकार एवं सञ्चारमाध्यममा काम गर्ने श्रमजीवीहरुलाई पायक पर्ने अस्पतालमा निःशुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाइदिन पनि भनेको छ । 

‘विगत ६ वर्षदेखि वृद्दि नभएको श्रमजीवीहरुको पारिश्रमिक अनिवार्य वृद्धि गरियोस् । सम्पूर्ण सञ्चार गृहमा सामाजिक सुरक्षा कोष अनिवार्य लागु गर्दै अशक्त–अपाङ्गता भएका पत्रकारहरुलाई ज्येष्ठ पत्रकारसरह मासिक जीवनवृत्तिको व्यवस्था गरियोस्’,ध्यानाकर्षण पत्रमा भनिएको छ,‘पत्रकार एवं सञ्चारमाध्यममा काम गर्ने श्रमजीवीहरुलाई पायक पर्ने जुनसुकै अस्पतालमा निःशुल्क स्वास्थ्योचारको व्यवस्था गरियोस् ।’

विज्ञापन बोर्डले दुई महिनादेखि रोकेको भुक्तानी तथा चाडपर्व भत्ता तत्काल उपलब्ध गराइदिन पहल गर्न, सञ्चारमाध्यमप्रति बोर्डले देखाएको विभेद र सिण्डिकेट लाद्न चालिएको कदम खारेज गर्न, विज्ञापनमा बोर्डले लगाएको छुट्टै चार प्रतिशत कट्टा गर्ने क्रियाकलाप रोक्न, युट्युब, फेसबुक, टिकटकलगायतमा बिना दर्ता सञ्चालित च्यानलको दर्ता–सूचीकरण गर्न पनि मोर्चाले ध्यानाकर्षण गराएको छ ।

टिप्पणीहरू