बसले किचेकी महिलाको निधनमा अरु रमिते
बैतडीमा एक दलित महिलाको बसले किचेर निधन भएको छ । स्थानीय देहीमाणौ मेलाबाट घर फर्कंदै गरेकी दशरथचन्द नगरपालिका–१ दाउन्नेबाँजकी ३२ वर्षीया भागरथी लुहारको घटनास्थलमा निधन भएको बताइन्छ ।
दुर्घटनापछि उनका छोराछोरी सडकमा बिलौना गरिरहेका थिए, तर उद्धारका लागि त्यहाँ कोही पुगेनन् । कतिसम्म भने जिल्लाका कुनै दलित अगुवासमेत घटनास्थलमा पुगेको देखिएन । बरु नजिकैको मन्दिरमा बली चढाइएका राँगाको मासु ओसार्नमै मानिसहरू व्यस्त देखिन्थे ।
प्रत्यक्षदर्शीहरुका अनुसार बली दिएका राँगा लिन एमालेका झण्डै ८० प्रतिशत दलित कार्यकर्ता मन्दिर पुगेका थिए । तर मृतक महिलाको उद्धारमा कसैको चासो नदिएको परिवारको गुनासो छ । घटनापछि प्रहरीले शव उठाएर अस्पताल पुर्याएको थियो ।
यसअघि साउन १७ गते बैतडीकै चौलानी नदी किनारमा एमाले नेता तथा तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको डोजरले निकालिएको बालुवा उच्च भोल्टेज लाइनमुनि थुपारेको थियो । सोही कारण १३ वर्षीय किरण कोलीको करेन्ट लागेर मृत्यु भएको थियो ।
उक्त घटनाको पनि हालसम्म छानबिन भएको छैन। एमाले निकट मुक्ति समाजले घटनालाई ढाकछोप गरेको आरोप लाग्दा पनि प्रहरीमा जाहेरी दर्ता भएको छैन।
टिप्पणीहरू