गृहमन्त्रीको चेतावनी : बोल्दा होस पुर्याउनु, मुख्यमन्त्री सोध्छन् : खोइ कारबाही ?
गृहमन्त्री ओमप्रकाश अर्यालले छोराछोरीले जस्तोसुकै गतिविधि गरे पनि सचेत नभए फेरि अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका छन् ।
गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री अर्यालले जेन जी आन्दोलन र त्यसपछिको परिस्थितिबारे बोल्दै सचेत रहनुपर्नेमा जोड दिएका हुन् । उनले घुमाउरो तरिकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि सन्देश दिएका छन् ।
गृहमन्त्री अर्यालले भने, ‘कसैको निगाहमा वा इच्छा अनुसार सरकारमा आएका होइनौं, यो विशेष परिस्थितिले प्राप्त जिम्मेवारी हो । निर्वाचन हाम्रो दृष्टि हो र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न हामी आतुर छौं ।’ उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर मात्र निर्वाचन सम्भव हुने र सार्वजनिक रुपमा भ्रम फैलाउने अभिव्यक्ति नदिन सबैलाई चेतावनी दिए ।
लुम्बिनीबाट पहिलोपटक आयोजना गरिएको निर्वाचनलक्षित सुरक्षा गोष्ठीको उद्देश्य शान्ति सन्देश फैलाउनु र निर्वाचनको वातावरण तयार गर्नु रहेको गृहमन्त्री अर्यालले जानकारी दिए । उनले सातै प्रदेशमा यस्तै गोष्ठी सञ्चालन गरिने जानकारी दिएका छन् ।
यसबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गत भदौ २३ को आन्दोलनमा देशव्यापी विध्वंस मच्चाउने अपराधीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । उनले जनतासँगै सुरक्षाकर्मी र राष्ट्रसेवक पनि आतंकित भएको र अराजकता फैलिएको दाबी गर्दै, घटनामा संलग्न अपराधीलाई पक्राउ गरी लुटिएका हतियार फिर्ता गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री आचार्यका अनुसार, लुम्बिनी प्रदेशमा जेन जी विध्वंशमा ३९१ वटा तोडफोड, लुटपाट र आगजनीका घटना भएका थिए।
टिप्पणीहरू