ट्रेड युनियन अध्यक्षलाई चुनाव हाँक्ने जिम्मा
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । कार्यालयको काम उम्मेदवारी दर्ता गर्नु,मनोनयन पत्र सार्वजनिक गर्नु,मतदानको व्यवस्थापन मिलाउनु,मतगणना र मतपरिणाम सार्वजनिक गर्नु मात्र होइन ।
त्योभन्दा महत्वपूर्ण निर्वाचन आचारसंहिता पालना गराउनु र पालना भए–नभएको अनुगमन गर्नु हो । तर, आचारसंहिता पालना गराउनुपर्ने निकायबाटै कानुनको धज्जी उडाउने काम भएको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय,पर्साले निर्वाचन आचारसंहिताविपरीत एक ट्रेड युनियनका पदाधिकारीलाई नियुक्त गरेको पाइएको छ ।
‘आफैं आचारसंहितामा बाँधिनुपर्ने व्यक्तिले नै आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । यसले चुनावको निष्पक्षतामा नै प्रश्नचिन्ह खडा गर्छ’
नेपाली काँग्रेसनिकट ट्रेड युनियनको विभागीय कार्यसमिति अध्यक्ष भइसकेका प्रभाकरकुमार मल्लिकलाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । जुन निर्वाचन आचारसंहिताविपरीत छ । निर्वाचन आचारसंहितामा ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनसम्बन्धी कुनै जिम्मेवारी दिन नमिल्ने स्पष्ट उल्लेख छ ।
भनिएको छ,‘ट्रेड युनियनका पदाधिकारीलाई निर्वाचनसम्बन्धी कुनै जिम्मेवारी नदिने ।’ मुख्य निर्वाचन अधिकृतले कानुन लत्याएर उनलाई नियुक्ति दिएका हुन् । त्यसले चुनावको निष्पक्षतामाथि प्रश्न चिन्ह खडा गर्ने भन्दै विवाद शुरु भएको छ । ‘आफैं आचारसंहितामा बाँधिनुपर्ने व्यक्तिले नै आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । यसले चुनावको निष्पक्षतामा नै प्रश्नचिन्ह खडा गर्छ’,स्रोतले भन्यो ।
स्रोतका अनुसार मल्लिक पूर्वकानुनमन्त्रीका पिए पनि हुन् । मुख्य निर्वाचन अधिकृत गायत्री रेग्मीले कानुनले नमिलेमा उनलाई नियुक्ति नदिने बताए । ‘कानुनले नमिल्ने भए नदिऊँला, सकिहाल्यो त’,उनले भने ।

टिप्पणीहरू