वडा सदस्यमा पराजित गुप्ता माननीयको उम्मेदवार

वडा सदस्यमा पराजित गुप्ता माननीयको उम्मेदवार

२०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा वडा सदस्य हारेका विशाल गुप्ता रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा सदस्यको उम्मेदवार बनेका गुप्ता पराजित भएका थिए ।

त्यसको केही वर्षपछि उनी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । काँग्रेसमा पनि टिक्न सकेनन् । काँग्रेस परित्याग गरेका गुप्ताले सामाजिक सञ्जाल फेसबुकबाट रुपन्देही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे । तर, त्यो घोषणा घोषणामै सीमित भयो । त्यसपछि उनी डा. सि.के. राउतको नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । 

आफूलाई रुपन्देही युवा समूहको अध्यक्ष भनेर चिनाउने गुप्ताले जेनजी आन्दोलनले नयाँ पुस्ता आउनुपर्छ भन्ने सपना देखाएको तर राजनीतिक दलहरुले पुरानो उम्मेदवारलाई अघि सारेकाले आफूले उम्मेदवारी दर्ता गराएको बताउनुभयो । ‘अबको निर्वाचनमार्फत नयाँ व्यक्ति आउनुपर्छ भनेर आएको हुँ, ’उनले भने–‘उम्मेदवारी दर्ता गराउनु मेरो मनशाय थिएन,तर जेनजी आन्दोलनका शहीदको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको हुँ ।’ सरकारी कार्यालयमा भएका ढिलासुस्ती र भनसुन बिना काम नहुने प्रवृत्तिको अन्त्य गर्ने उद्देश्य लिएर अगाडि बढेको उनको भनाइ छ । थप एजेण्डा चुनाव जितेपछि जनतासमक्ष ल्याउने २९ वर्षीय गुप्ताले बताए ।

छोरा जनमत पार्टीमा प्रवेश गरेपछि बुवा आनन्दप्रसाद गुप्ताले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका छन् । पार्टीको लुम्बिनी प्रदेश सभा सदस्य रहेका गुप्ता रुपन्देही–३ बाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारमा सिफारिस भएका थिए । तर, रुपन्देही–३ मा नेकपाबाट फैज अहमदले टिकट पाए । गुप्ताले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिए ।
 

टिप्पणीहरू