जनकपुर घटना,रास्वपा विवाद र सर्लाही ३ को चुनाव

जनकपुर घटना,रास्वपा विवाद र सर्लाही ३ को चुनाव

जनकपुरधामको होटल यात्रीमा हिजोराति भएको चर्को नाराबाजीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक असहजता र टिकट वितरण प्रक्रियामाथि भएको भनिएको अनियमिततालाई सतहमा ल्याएको छ । अस्तिदेखि उक्त होटलमा बास बसेका सर्लाहीका बागी काँग्रेसी अमरेशकुमार सिंहविरुद्ध नाराबाजी गर्ने दुई जना स्थानीयलाई प्रहरीले आज दिउँसोसम्म हिरासतमा राखेको थियो ।

उम्मेदवार मनोनयनको समय नजिकिएपछि उनीहरू छुट्नुलाई घटनाको सतही यथार्थ भएको बताउने रास्वपा सर्लाही ३ का स्थानीय नेता तथा कार्यकर्तामाझ गहिरो राजनीतिक असन्तोष बढेको बताइन्छ ।

हिजो आयोजित रास्वपा आमसभामा अमरेशकुमारले पार्टी प्रवेश गरेर सर्लाही ४ मा आफ्नो टिकट सुनिश्चित भएको सन्देश दिएका थिए । आज नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन् । तर सर्लाहीका स्थानीयले हिजो राति जनकपुरको होटल बाहिर नाराबाजी गर्दै अमरेशले सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को टिकट अर्कोलाई ‘बेचेको’ आरोप लगाएका थिए ।

उनीहरुका अनुसार काठमाडौंबाट हिजो दिउँसो जनकपुर पुगेका नरेन्द्र साहले हिजै रास्वपाको टिकट पाउनुलाई अमरेशसँगको सम्बन्ध र लेनदेनसँग जोडिएको छ । यसले रास्वपाले अघि सारेको ‘पारदर्शी राजनीति’को दावीलाई ह्वाङ्गै बनाइदिएको छ । अमरेशले बिचौलियाको भूमिका खेलेको स्थानीयको आरोपले रवि र बालेनलगायतमाथि गम्भीर प्रश्न तेर्सिएको छ।

यसैबीच रवि लामिछाने निकटस्थ समूहले हिजोको आमसभापछि ‘बालेन्द्र साह ठीक,उनका उम्मेदवारहरू अधिकांश बेठीक’ को सन्देश प्रचार गर्नुलाई पनि सहज रुपमा लिन नसकिने बताइन्छ । यसले रास्वपाभित्रै उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनदेखि नेतृत्व र उम्मेदवार चयनबीचको दूरीलाई उजागर गरेको छ । लामिछाने समूहले मधेशमा बालेनको सामाजिक सञ्जालमा देखिएको लोकप्रियता प्रयोग गरेर मैदान विस्तार गर्ने रणनीति अपनाइए पनि उम्मेदवारको पृष्ठभूमि र स्वीकार्यतामा देखिएको कमजोरीको परिणाम मतदानपछि अवश्य देखिने छ ।

अमरेशको विवादास्पद पृष्ठभूमि 

अमरेशको पहलमा टिकट मिलाइएका भनिएका नरेन्द्र साह स्वयं क्यासिनो व्यवसायी हुन् । पहिले राजधानीको सोल्टी होटल नजिकै उनको क्यासिनो अहिले महेन्द्रनगरको ओपेरा होटलमा सारिएको चर्चा छ । यस्तो पृष्ठभूमिका व्यक्तिलाई रास्वपाले अघि सारेको ‘नयाँ राजनीति’को भाष्यसँग मेल खान्छ कि खाँदैन ? भन्दै स्थानीयले हिजो नाराबाजी गरेका थिए ।

अवस्था चर्किदै गएपछि रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी राति ११ बजेसम्म यात्री होटलमै थिए । अमरेशसँग कुराकानी गरेर उनी राति नै त्यहाँबाट गोरखातर्फ गएको बताइन्छ ।

जनकपुरको हिजो रातिको घटनाले रास्वपाभित्र टिकट वितरण,अनुहार चयन र स्थानीय स्वीकार्यताबीचको अन्तरलाई स्वतः उजागर गरिदिएको छ। नयाँ दलले जति गुलिया कुरा गरे पनि यो पुरानै राजनीतिक रोगको नयाँ संस्करण भएकोमा कसैको दुई मत छैन । 

सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपाका नरेन्द्रसँगै नेकपाका नारायणकाजी श्रेष्ठ,एमालेका हरिप्रसाद उप्रेतीलगायत उठेका छन् ।

टिप्पणीहरू