पर्सामा आफैँ उपस्थित, चितवनमा वारेस

पर्सामा आफैँ उपस्थित, चितवनमा वारेस

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा चुनावी माहोल सिर्जना भए पनि आफू उत्साहित बन्न नसकेको बताएका छन् । सामाजिक सञ्जालमा सहकारीको बाटो नै नहिँडेको आफूविरुद्ध तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुद्दा लगाएर पाप गरेको लेखेका छन् ।

पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले आज एक करोड धरौटी बुझाउन आदेश दिएपछि लामिछानेले लेखेका हुन् । ‘देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ, तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन’, उनले भनेका छन्, ‘किनकी आजै देशका तीन वटा (पर्सा, काठमाण्डौँ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ, अरू अदालतको आदेश आउँदै होला ।’

लामिछानेले आफूमाथि अत्याचार गर्नेहरु चाँडै रसातलमा पुग्ने दावी समेत गरेका छन् । ‘नभएको प्रमाण छ भन्ने पापी हौ तिमीहरू, सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउँने अत्याचारी हौ तिमीहरू’, उनले अघि थपेका छन्, ‘मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ, म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु ,बिना प्रतिशोध तिर्छु।’

लामिछानेले आफू ‘अभिमन्यु’ नभएको अवगत गराउँदै प्रतिनिधिसभा निर्वाचनको लागि वारेसमार्फत् चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएको पनि जानकारी दिएका छन् ।

 

टिप्पणीहरू