कतै कतै हार्दिकता पनि उत्तिकै

कतै कतै हार्दिकता पनि उत्तिकै

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि टिकट नपाएका केही नेकपा (एमाले) का नेताहरूले पार्टीको मनोनयन दर्ता प्रक्रियामा पनि सहकार्य र हार्दिकता देखाएका छन्।

ताप्लेजुङबाट टिकट पाएका राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेको मनोनयन दर्ता प्रक्रियामा सहभागी हुन पार्टीका उपमहासचिव योगश भट्टराई पुगेका थिए। त्यहाँ भट्टराई र थेबेले एकअर्कालाई माला लगाइदिएर हार्दिकता आदानप्रदान गरे।

भट्टराईको पकड ताप्लेजुङ क्षेत्रमा बलियो मानिन्छ। २०७९ को निर्वाचनमा उनले २१ हजार ९ सय ४३ मतसहित तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई पराजित गरेका थिए। २०७४ को निर्वाचनमा पनि भट्टराई निर्वाचित भएका थिए। तर फागुन २१ हुने निर्वाचनका लागि उनले टिकट पाउन सकेनन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले क्षितिज थेबेलाई टिकट दिएका हुन्।

त्यस्तै, टिकट नपाएका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ बाट टिकट पाएका कमल पाठकको मनोनयन दर्ता प्रक्रियामा सहभागी भए। काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका गोकुल बाँस्कोटा पनि टिकट नपाएपछि पार्टीले टिकट दिएका अशोक व्याञ्जुको मनोनयनमा पुगेर सहभागिता जनाए।

यसरी, एमालेमा टिकट नपाए पनि केही नेताहरूले पार्टी प्रक्रियामा सहभागी भएर हार्दिकता र सहकार्य देखाउने उदाहरण प्रस्तुत गरेका छन्।

टिप्पणीहरू