प्रचण्डलाई जिताउन रुकुम पूर्वमा सबै दल एकजुट

प्रचण्डलाई जिताउन रुकुम पूर्वमा सबै दल एकजुट

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उठेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई जिताउन नेकपा एमालेलगायतका दल एकजुट भएका छन् । 

नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष टोपबहादुर ओली, २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा (ख) बाट स्वतन्त्र उम्मेदवार नरहरि खड्का, एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचन,भूमे–१ का ताराप्रसाद पुन, पृथा उत्तरगंगा–१ का अमृतधन पुन, सिस्ने–५ का पूर्णबहादुर बुढाथोकीलगायतले प्रचण्डलाई जिताउन आह्वान गरेका हुन् ।

उनीहरुले प्रचण्डलाई अग्रिम शुभकामनासमेत दिइसकेका छन् । ‘फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको चुनावमा यस रुकुम पूर्व जिल्लाको तर्फबाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यस जिल्लामा उम्मेदवार हुनुभएकोमा हार्दिक स्वागत तथा सानदार विजयको अग्रिम शुभकामना टक्रयाउँदछौं’,भनिएको छ,‘यस जिल्लाको विकास र समृद्धिको क्षेत्रमा विशेष ध्यान पुर्याउन र ज्यान लगाएर बजेट व्यवस्थापन गरी यस जिल्लाको दुर्गमतामा पिल्सिएका जनताको जीवनमा परिवर्तन महसुश गराउन जोडदार ध्यानाकर्षण गराउँदछौं ।’

उनीहरुले संयुक्त अपिल जारी गर्दै निर्वाचित भएपछि मुख्यतः सात वटा काम गर्न माग गरेका छन् । जसमा राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको शहिद मार्ग होलेरी–धर्तीगाउँ–थवाङ, कोकी–तकसेरा–हुकाम–मैकोट–डोल्पाको सहरतारा–धो–तिन्जे हुँदै चीनसम्मको योजनालाई यथावत राख्दै सोको स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गर्ने, देउखोला–जामाबगर–ढोरपाटन–म्याग्दी हुँदै मुस्ताङबाट चीनको सीमानासम्मको सडकको लागि यथोचित माग व्यवस्थापन गर्नेलगायत रहेको छ ।

टिप्पणीहरू