पुनः जित,‘कमब्याक’ र ब्रेक–थ्रुमा रुमलिएको धनुषा ३
धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ यसपटक प्रतिनिधिसभा निर्वाचनको रोचक र प्रतिस्पर्धात्मक क्षेत्रमध्ये एक बन्ने संकेत देखिएको छ । बलिया र परिचित राजनीतिक अनुहारहरू मैदानमा उत्रिएपछि चुनावी समीकरण त्रिकोणात्मक बन्ने निश्चित छ ।
एमालेको तर्फबाट यसअघिकी सांसद जुली महतो उम्मेदवार बनेकी छन् । महतोको व्यक्तिगत परिचय र अघिल्लो जितले उनलाई स्वाभाविक रूपमा बलियो दाबेदार देखाएको छ । तर उनको जित दोहोरिएको अवस्थामा मात्रै उक्त दावीलाई सही मान्न सकिने अवस्था पनि उत्तिकै छ ।
नेपाली कांग्रेसबाट विमलेन्द्र निधि उम्मेदवार बनेका छन् । सांगठनिक दृष्टिले निधि यस क्षेत्रमा सबैभन्दा बलिया मानिन्छन् । कांग्रेसको परम्परागत आधार,स्थानीय संगठन र लामो राजनीतिक अनुभव निधिका मुख्य शक्ति हुन् । २०७४ को निर्वाचनमा उनी राजेन्द्र महतोसँग र गत निर्वाचनमा जुलीसँग पराजित भएका थिए ।
सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष झा उम्मेदवार बनेका छन् । झाले परम्परागत दलप्रतिको असन्तोषलाई मतमा बदल्न सक्ने क्षमता कति राख्छन् भन्ने नै उनको मुख्य परीक्षा हो । त्यसैले यसपटक महतोको पुनः जित,निधिको ‘कमब्याक’ वा रास्वपाको ब्रेक–थ्रु मध्ये कुन सम्भावना बलियो हुन्छ भन्ने कुराको निर्क्यौल भोलिदेखिका चुनावी गतिविधिमा हुनेछ ।
टिप्पणीहरू