चुनाव संसदको, चर्चा पालिकाको

चुनाव संसदको, चर्चा पालिकाको

-कमल भट्टराई 

ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको निर्वाचनमा भएका बहसहरुमा पालिकाको चर्चा उल्लेख्य देखिन्छ। खासगरी सिरिजंघा गाउँपालिका यसपटकको चुनावी चर्चाको केन्द्रमा रहेको छ ।

जिल्लाका नौ वटा पालिकामध्ये एक सिट सांसदका लागि १३ जना उम्मेदवार मैदानमा छन्। प्रमुख राजनीतिक दलहरूले सिरिजंघा गाउँपालिकाबाट मात्र उम्मेदवार उठाएपछि चुनावी प्रतिस्पर्धा सोही पालिकामा केन्द्रीत भएको छ। १३ मध्ये ५ जना एउटै पालिकाबाट हुनु नै यस निर्वाचनको सबैभन्दा ठूलो विशेषता बनेको छ।

एउटै पालिकाबाट पाँचदलीय उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट गजेन्द्र तुम्याहाङ (सिरिजंघा–७), नेकपा एमालेबाट क्षितिज थेव (सिरिजंघा–१), नेपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ (सिरिजंघा–५), राष्ट्रिय स्वतन्त्र पार्टीबाट विरेंद्र श्रेष्ठ (सिरिजंघा–१) र श्रम संस्कृति पार्टीबाट सन्तोष राई (सिरिजंघा–८) उम्मेदवार बनेका छन्।

अन्य पालिकाबाट पनि उम्मेदवारी परेको छ। मंगोल नेसनल अर्गनाइजेशनबाट सन्तबहादुर लिम्बू (फुङलिङ–४), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाकुङ लिम्बू (फक्ताङलुङ–४), नेपाल जनमुक्ति पार्टीबाट ईन्द्रकुमार लिम्बू (मिक्वाखोला–४), जनता समाजवादी पार्टीबाट अरुण सुब्बा (फुङलिङ–१०), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईन्द्रप्रसाद थापा (मिक्वाखोला–२), जसपा नेपालबाट सूर्य गुरुङ (फुङलिङ–२), नेकपा (माओवादी) बाट नरपाती पौडेल (फक्ताङलुङ–२) र उज्यालो नेपाल पार्टीबाट किर्तिमान मादेन (फुङलिङ–४) उम्मेदवार छन्।

‘निर्णायक’ बन्ने सिरिजंघा ?

एकै गाउँपालिकाबाट एमाले, कांग्रेस, कम्युनिस्ट, रासपा र श्रम संस्कृति पार्टीका उम्मेदवार परेपछि सिरिजंघा गाउँपालिका नै निर्णायक क्षेत्र बन्ने स्थानीयहरूको अनुमान छ। ‘यो चुनाव जित्ने पालिका सिरिजंघा नै हो,’ स्थानीय राजनीतिक विश्लेषकहरू भन्छन्।

आफ्नै पालिकामा आफ्नै दलका मात्र नभएर आफ्नै गाउँका प्रतिस्पर्धीसँग भिड्नुपर्ने अवस्था आउँदा दल र तिनका उम्मेदवारलाई चुनावी रणनीति बनाउन कठिन भएको देखिन्छ। यसले ताप्लेजुङको चुनावलाई यसपटक अझै रोचक बनाइदिएको छ।

टिप्पणीहरू