अछाम–१ मा भीम रावलले भनेकि महिलाको नाम खोज्दै

अछाम–१ मा भीम रावलले भनेकि महिलाको नाम खोज्दै

प्रतिनिधिसभा निर्वाचन प्रक्रिया शुरु भइसक्दा पनि अछाम क्षेत्र नम्बर–१ का मतदाता ‘निर्मला साउद को हुन् ?’ भन्ने प्रश्नमै अलमलमा परेका छन्। चुनावी सभा, मञ्चदेखि प्रचार–प्रसारसम्म  समानुपातिक उम्मेदवारका रूपमा चर्चामा ल्याइएकी निर्मलाको नाम निर्वाचन आयोगको बन्द सूचीमै नभएको तथ्य बाहिरिएपछि मतदाताबीच अन्योल फैलिएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका सो क्षेत्रका उम्मेदवार डा. भीम रावलको चुनावी अभियानमा निर्मला साउदलाई समानुपातिक उम्मेदवार भन्दै अगाडि सारिएपछि धेरैले उनलाई भावी सांसद ठानेका थिए। तर माघ ४ गते सार्वजनिक समानुपातिक उम्मेदवारको आधिकारिक सूचीमा निर्मलाको नाम नदेखिएपछि गाउँ–बस्तीमा प्रश्न उठ्न थालेको छ।

‘यदि उम्मेदवार नै होइन भने किन सभा–सभामा उभ्याइयो ?’ स्थानीय मतदाताहरूले खुलेर प्रश्न गर्न थालेका छन् । स्थानीय राजनीतिक वृत्तमा यो घटना नयाँ नभएको चर्चा छ। अघिल्ला निर्वाचनहरूमा पनि समानुपातिक सांसद बनाइने आश्वासनमा जिल्लामा थुप्रै प्रचार गरिएको उनीहरुले बताए ।

विपक्षी दलका नेताहरूले भने रावलले समुदाय विशेषको मत तान्न उक्त प्रचार गरेको आरोप लगाएका छन् । ‘सांसद खोज्ने होइन, अब मतदाताले सत्य खोजिरहेका छन्,’ काँग्रेसका एक स्थानीय नेताले व्यंग्य गरे। निर्मला साउद वास्तवमै को हुन्,उम्मेदवार हुन् कि होइनन् भन्ने स्पष्ट जानकारी नदिँदासम्म अछाम–१ मा यो विषय चुनावी बहसको केन्द्र बन्ने देखिन्छ।

डा. रावलले नेकपाको समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहेको भनिएकी महिला बान्नीगढी जयगढ गाउँपालिकाकी निर्मला साउद हुन् । चुनावी सभामा समानुपातिक उम्मेदवारको रूपमा प्रस्तुत गर्दै आसनग्रहणदेखि प्रचार–प्रसारमा सहभागी छन् । खस समुदाय र क्षेत्रका मतदाता आकर्षित गर्न निर्मलालाई अगाडि सारिएको विपक्षी उम्मेदवारहरुको आरोप छ। 

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैसीले सामाजिक सञ्जाल फेसबुकमार्फत डा. रावलले यसअघि पनि चुनावका क्रममा झुट बोलेको लेखेको छन् । उनका अनुसार २०७० सालको निर्वाचनमा दलित समुदायको मत रिझाउन रावलले ११ दिनसम्म जंग बि.क.लाई समानुपातिक उम्मेदवारको रूपमा आसनग्रहणदेखि भाषण गर्न लगाएका थिए । त्यतिबेला पनि उनको नाम समानुपातिक सूचीमा समावेश थिएन । यस्तै, २०६४ सालको संविधानसभा निर्वाचनमा मिना साउदलाई सांसद पद सुनिश्चित भइसकेझैँ प्रचार गरिएकोमा पछि उनलाई समानुपातिक संसद बनाइएन ।

एमाले छाडेपछि मातृभूमि जागरण अभियान शुरु गरेका रावल पछिल्लो समय नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध छन्। उनी अछामबाट पटक–पटक सांसदमा निर्वाचित भएर धेरै पटक मन्त्री बनिसकेका छन् । हालको निर्वाचनमा अछाम क्षेत्र नम्बर १ मा एमालेले दीपक साउदलाई उम्मेदवार बनाएको छ ।

टिप्पणीहरू