देश जलाउनेलाई कारबाही गर्ने ओलीको उद्घोष
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
जेन–जी विध्वंसका क्रममा आगजनीमा परेको गृहजिल्ला झापाको घर अवलोकन गर्दै उनले उक्त भनाइ राखेका हुन् । नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरू कानूनअनुसार दोषी रहेको ओलीले बताए ।
यस्तो अपराधिक गतिविधि गर्नेहरूलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने उनले स्पष्ट पारेका छन् । अपराध रोकेर शान्तिपूर्ण रूपमा बस्न लायकको देश बनाउने उनले दावी गरे ।
‘राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ’, ओलीले भने, ‘अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ । कारबाहीको दायरामा ल्याउनुपर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’
अन्तरिम सरकार देश जलाउनेहरूकै भएकाले पनि अपराधीलाई कारबाही नगरेको उनको जिकिर छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न सोमवार झापा पुगेका हुन् ओली । उनले ५ नम्बर क्षेत्रबाट प्रतिष्पर्धा गर्नेगरी मनोनयन दर्ता गराएका छन् ।
टिप्पणीहरू