झापा-५ का कांग्रेस र एमालेहरूलाई के भा"को ?

झापा-५ का कांग्रेस र एमालेहरूलाई के भा"को ?

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारहरू प्रचार-प्रसारमा जुटेका छन् । 

जेनजी विद्रोह भनिएको भदौ २३ र २४ को हिंसात्मक घटनापछि उत्पन्न फरक परिवेशमा हुन लागेको निर्वाचनको सम्भावित परिणामलाई लिएर पनि उत्तिक्कै चासो छ । चुनावको मिति नजिकिँदै गर्दा प्रतिष्पर्धाका रोचक पक्ष सतहमा आइरहेका छन् । र त्यसको इपिसेन्टर बनेको छ, झापा-५ । 

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रवि लामिछानेको पार्टी रास्वपाद्वारा भावी प्रधानमन्त्रीका रूपमा प्रचारित काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र साह आमनेसामने भएकाले यो क्षेत्र चर्चामा रहेको हो । त्यसकारण दुवै नेता र पार्टीका लागि पनि यहाँको चुनाव प्रतिष्ठाको लडाई बन्ने देखिंदैछ ।   

सडकको दबाबमा सत्ताबाट बढारिएका ओलीमाथि जेनजी आन्दोलनमाथि दमन गरेको आरोप छ । सामाजिक सञ्जालको लोकप्रियताबाट उदाएका बालेन्द्र भदौ २४ गते विध्वँश मच्चाउन उक्साएको आक्षेप खेपिरहेका पात्र हुन् । 

त्यसकारण कतिपयले जेनजी आन्दोलन दबाउने र आन्दोलनको नाममा विध्वंश मच्चाउनेबीचको प्रतिष्पर्धाका रुपमा पनि झापा-५ को निर्वाचनलाई हेरेको पाइन्छ । आ-आफ्नो जितको दावीसहित यतिबेला यी दुई मतदाता भेटघाटमा व्यस्त छन् । 

०४८ सालदेखि यही क्षेत्रबाट चुनाव उठ्दै आएका ओलीको व्यक्तित्व, एमालेको बलियो संगठन र उनले गरेका विकास निर्माणका कामलाई जितको आधार मानिएको छ । बालेन्द्रको जितको मुख्य आधार भने सामाजिक सञ्जालमा उनले कमाएको लोकप्रियता नै हो । 

ओली संसदीय राजनीतिका पुराना खेलाडी हुन् । चुनाव जित्न साम,दाम,दण्ड,भेदको प्रयोग कसरी गर्नुपर्छ उनलाई थाहा छ । बालेन्द्रको हकमा यो उनको पहिलो संसदीय प्रतिष्पर्धा हो । महोत्तरी थातथलो भई काठमाडौँमा जन्मिएका उनीसँग संसदीय राजनीतिको अनुभव छैन । काठमाडौँका मतदाता यिनले आफैँलाई भोट दिन पाउने छैनन् । 

ओली र बालेन्द्रबीचको प्रतिष्पर्धालाई विश्लेषकहरूले आ-आफ्नै कोणबाट विष्लेषण गरिरहँदा स्थानीय राजनीति तरल देखिन थालेको छ । कांग्रेस र एमालेका असन्तुष्ट केही युवा बालेन्द्रको अभियानमा जोडिएका छन् । 

आज बिहानमात्रै एमालेको जनसंगठन राष्ट्रिय युवा सङ्घ नेपाल,दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन् । संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई बालेन्द्रले स्वागत गरेका थिए ।

चुनावको मुखमा ओलीलाई झड्का दिनेगरी बालेन्द्रतिर लागेका यी दुईले वैकल्पिक राजनीतिक धारलाई स्थापित गर्न यो निर्णयमा पुगेको बताएका छन् ।

यता,आजै सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने कमल गाउँपालिकाका कांग्रेस सचिव महेन्द्र बुढाथोकी पनि बालेन्द्रतिर मिसिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको स्टाटसमा आइन्दा कांग्रेसको कुनै जिम्मेवारीमा नरहने उल्लेख छ ।
 

टिप्पणीहरू