गौरीबहादुर कार्की आयोगको म्याद फेरि थपिन लाग्यो

गौरीबहादुर कार्की आयोगको म्याद फेरि थपिन लाग्यो

भदौ २३ र २४ को घटना छानविनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद दोस्रो पटक थप गर्न लागिएको छ । प्रतिवेदन लेखनको चरणमा रहेका आयोगका पदाधिकारीको आग्रहअनुसार सरकारले पुन: म्याद थप्ने तयारी गरेको हो । 

आज क्याबिनेटमा गृह मन्त्रालयले म्याद थपको प्रस्ताव लैजाने र आगामी बैठकबाट निर्णय गर्ने तयारी सरकारले गरेको बताइएको छ । 

भदौ २३ को राज्य-दमन र भोलिपल्टको महाविध्वंशका घटना छानविन गरी प्रतिवेदन पेश गर्न तीन महिनाको कार्यावधि तोकेर सरकारले गत असोज ५ गते आयोग गठन गरेको थियो । त्यसको चार दिनपछि ९ गतेबाट आयोगले औपचारिक रूपमा कार्य प्रारम्भ गरेको थियो । 

उक्त समयमा काम सम्पन्न नभएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । थपिएको अवधि यही ९ गते शुक्रबार सकिंदैछ । 

यसबीच आयोगले घटनामा प्रत्यक्ष-परोक्ष संलग्न व्यक्ति, सरोकारवाला निकायहरूसँग आवश्यक सोधपुछ र बयान लिएको थियो । तत्कालीन समयका प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक, सुरक्षा प्रमुखहरु, मुख्यसचिव, काठमाडौँका सिडिओ, त्यसबेला सुरक्षामा खटिएका कमाण्डर, जेल तोडेर भगाइएका रास्वपा सभापति रवि लामिछाने, जेनजी अगुवालगायतले बयान लिएका थिए । 

बयान सकेर प्रतिवेदन लेखनमा जुटेका आयोगका पदाधिकारीले तोकिएको समयभित्र उक्त काम सम्पन्न नहुने भएपछि केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पुन: एकचोटि म्याद थपिदिन आग्रह गरेका थिए । पछिल्लो राजनीतिक परिस्थितिलाई समेत ध्यानमा राखेर आयोगको आग्रहबमोजिम सरकारले म्याद थप्न लागेको बुझिएको छ ।

टिप्पणीहरू