‘बा’ र बालेनलाई सजाय दिन झापालीलाई सुन्दर अवसर
अन्तराष्ट्रिय राजनीतिमा मौलाउँदै गएको ‘फेक पपुलिज्म’ लाई लक्षित गर्दै क्रिस्टोफर हिचेन्सले भनेका थिए, ‘जब कुनै सन्कीको हातमा गाडीको स्टेरिङ पर्छ, तब दुर्घटनाको लागि बाटोको गुणस्तरले अर्थ राख्दैन ।’
अहिले हाम्रो देश पनि ठ्याक्कै त्यही व्याख्याको हकदार तुलिएको छ । मानौँ, एउटा सन्की ड्राइभरले दुर्घटना गराएको गाडी अर्को सन्कीले हाँक्ने प्रयास गर्दैछ ।
एउटा सत्य के हो भने, संघीय लोकतान्त्रिक गणतन्त्रले सबै नागरिकको सर्वोच्चतालाई बराबर ठान्छ । जनताको वर्गीकरण गर्दैन । तर यसो भनिरहँदा के भुल्नुहुँदैन भने, कसैको आदिम पहिचानमाथि कब्जा गर्न खोज्नु सरासर गलत हो, ‘स्क्रिप्टेड जादु’ देखाएर जनतालाई भ्रममा पार्नु त झन् अक्षम्य भुल ! जुन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले गरिरहेका छन ।
काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर प्रधानमन्त्री बन्न कस्सिएका बालेन के साँच्चै मुलुकलाई नेतृत्व दिन सक्षम छन् त ? राजनीतिक विश्लेषक सौरभबाट लुसिफरको संज्ञा पाएका उनी देशभरका आधा दर्जन सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछानेसँग किन कुम जुधाइरहेका छन् ? उनले धारण गर्दै आएको कालो पर्दा (पोशाक) पछाडि लुकेको स्वार्थ के हो ? यी र यस्ता तमाम प्रश्नको जवाफ खोज्नैपर्ने भएको छ ।
बालेन त्यही पात्र हुन्, जसले गरिबलाई फोहोरी ठान्छन् । सिमान्तकृतलाई मान्छे गन्दैनन् । काठमाडौँका झण्डै ११ हजार कवाड व्यवसायीहरुको उठिवास लगाउने प्रयास यस्तै सोचको उपज हो । अझै भन्न थालिएको छ- सुकुम्बासी बस्तीहरूमा डोजर आतंक मच्चाउनु उनको तानाशाहीमा हुने ‘बालसुलभ प्रवृति’ मात्रै हो । यो प्रवृति वयस्क हुँदै जाँदा झन् उनी झनै खतरनाक सावित हुँदै जाने कतिपयको विश्लेषण छ ।
तर रमाइलो के छ भने, उनै बालेनले अस्ति जनकपुर पुगेर संघीयताको ध्वाँस लगाए । मधेसी हुनुमा लघुताभास पालेर थर सच्याएका उनले मैथली पोशाक लगाएर दोहोरो चरित्र प्रस्तुत गरे । काठमाडौँ महानगरको मेयर बनिरहँदा कहिल्यै मधेशी समुदायका कवाड व्यवसायीलाई ‘मान्छे’ नमानेकामा उनी किन एकाएक मधेशी जनताको मसिहा बन्ने अभ्यास गरिरहेका हाेलान् ? आफैँमा विराधाभास सिर्जना भएको छ ।
त्यसो त, नेपालको कुल मतदातामध्ये १५ प्रतिशत ( झण्डै २९ लाख) मधेश प्रदेशमा छन् । सरकार निर्माणको लागि मधेशको मत निर्णायक हुनसक्ने देखिन्छ । यो पृष्ठभूमिमा बालेनलाई मधेशको याद आउनुलाई स्वभाविक मान्न सकिएला । तर मधेशी जनताले के बुझ्न जरुरी छ भने यो बालेनको प्रेम होइन, ‘अट्रेक्सन’ मात्र हो । र, ‘अट्रेक्सन’ काे सम्बन्ध अरिनाभित्र मात्रै हुन्छ, अभिनय सकिएपछि होइन ।
यहाँ सवाल बालेनको कार्यशैलीबारे मात्रै होइन, उनको प्रवृतिको पनि हो । नेतृत्वमा हुनुपर्ने सामान्य विशेषतासमेत प्रस्तुत गर्न नसकेका उनले कुन दिन नयाँ अवतार देखाएर मुलुकलाई भड्कालोमा हाल्छन्, सर्वत्र चिन्ता हुन थालेको छ । प्रतिनिधिसभा निर्वाचनको लागि हिजो मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुग्दै गर्दा जुन रवाफ देखाए, त्यसले उनको प्रवृतिलाई प्रतिबिम्बन गरेको हाे ।
कुशल नेता बन्नको लागि उसको व्यक्तित्व, भाषा, शैली र प्रस्तुतीले ठूलो अर्थ राखेको हुन्छ । तर बालेन नेता कम, ‘ग्याङस्टार’ बढी देखिएको निकटस्थहरू नै बताउँछन् ।
झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेक बालेनलाई स्थानीय मतदाताले कत्तिको साथ दिन्छन्, त्यो त फागुन २१ पछि नै थाहा हाेला । तर यतिबेला झापाली जनताले गम्भीर भएर सोच्नै पर्ने भएको छ, ओली प्रवृति र बालेन प्रवृति के साँच्चै हाम्रो समाजको लागि लाभदायी छ त ? भदौ २३ र २४ गतेको घटनाका मुख्य कारण नै उनीहरू हैनन् र ? ओली नेतृत्वको तत्कालीन सरकारले जेनजी युवालाई सडकमा आउनै नपर्नेगरी काम गरिदिएको भए ? वा कलिला विद्यार्थीहरुको छाती र टाउकोमा गोली नवर्षाएको भए ? वा बालेनले स्टाटस लेखेर भीड नउक्साएको भए ? वा सिंहदरबार जलाउने अभिव्यक्ति नदिएको भए ? सायद आजको परिस्थिति अर्कै हुन्थ्यो होला !
तसर्थ, जेनजी आन्दोलनमा भएको मावनीय र भौतिक क्षतिको मुख्य कारणमध्येका दुई पात्रलाई प्रतिनिधिसभा निर्वाचनमा ‘नो भोट’मार्फत् जनकारवाही गर्न झापाली जनताको लागि सुन्दर अवसर मिलेकाे देखिन्छ । ओली र बालेन छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको भए बेग्लै परिस्थिति हुन्थ्यो । तर उनीहरु एकअर्काको इगोले चुनाव लड्दैछन् वा जनताको लागि लड्दैछन्, झापाली जनता सचेत हुन जरूरी छ ।
एक राजनीतिक विश्लेषक भन्छन्, ‘त्यहाँ अन्य पार्टीका राम्रा उम्मेदवार पनि छन्, जनताले विकल्प रोज्न सक्छन्, तर फेरि बा र बालेन सत्तामा पुगे भने मुलुक अर्को दुर्घटनामा पर्ने प्रबल सम्भावना छ ।’
टिप्पणीहरू