सबै श्रेणीहरू

माननीय ताक्दै मजदुर

माननीय ताक्दै मजदुर

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर–६ मा एक मजदुरले उम्मेदवारी दर्ता गराएका छन् । बुढीगंगा गाउँपालिका–५, हात्तीमुढास्थित अमात टोल बस्दै आएका उपेन्द्र रायले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका हुन् । 

न्यून आर्थिक अवस्थाका उनी आफ्नो सादगी र पार्टीको एजेण्डाले जित सुनिश्चित हुने आत्मविश्वाससहित चुनावी मैदानमा उत्रिएका हुन् । उनका बुवा रामजी राय अमात गाउँमा जमिन्दारहरुको घरमा हली बस्थे । कमाउनका लागि भारतको पञ्जाब पनि पुग्थें । अर्काको जमिनमा बस्दै आएका उनको परिवारको अन्य सदस्य पनि साहु महाजनकहाँ काम गर्थें । 

गरिबीका कारण उपेन्द्रले सानै उमेरदेखि काम गर्नुपर्यो । प्राथमिक तहदेखि नै उनले स्थानीय उद्योगमा काम गरे । सानै उमेरदेखि शोषण देखेका उनीसँग चुनावी प्रतिस्पर्धामा नेपाली काँग्रेसबाट शेखर कोइराला, नेकपा एमालेबाट विनोद ढकाल, रास्वपाबाट रुबिना आचार्य प्रतिस्पर्धी छन् । 

उपेन्द्रको कच्ची घर छ भने उनको दाजुभाउजुलगायत अहिलेपनि स्थानीय उद्योगमा काम गर्छन् । पहाडी मूलकी सावित्रा भण्डारीसँग अन्तरजातीय विवाह गरेका उनी मिजासिला, सहयोगी र सादगीपूर्ण मजदुर नेताका रुपमा चिनिन्छन् । उद्योगमा मजदुरी गर्दागर्दै २०५३ सालदेखि माओवादी आन्दोलनमा आकर्षित भएका उनी २०५६ सालदेखि सशस्त्र जनयुद्धमा होमिएका थिए ।

वर्गीय उत्पीडन, शोषण र अन्याय–अत्याचारविरुद्ध आफूसँग लडेका सहकर्मीहरु सांसद, मन्त्री अनि जनप्रतिनिधि भइसक्दापनि उनी कहिल्यै विचलित भएनन् । बरु निरन्तर मजदुरहरुको हकहितका लागि आवाज उठाइरहन्थें । उनी हाल अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपमहासचिव र कोशी प्रदेशका इञ्चार्ज छन् । 

पहुँचवाल मजदुर नेता भएपनि गलत कामबाट टाढै बस्ने उनको सादगी र वर्गीय पक्षधरताले नै उनको जीत सुनिश्चित गराउने बलियो आधार भएको छिमेकी गुणादेवी निरौला बताउँछिन् । भन्छिन्,‘इमान्दार उम्मेदवार बत्ती बालेर खोज्नुपर्ने बेलामा हामीले आफ्नै क्षेत्रमा सरल जीवनशैली भएका हामीजस्तै उम्मेदवार पाएका छौं । यो क्षेत्रको अधिकांशको आकर्षण उहाँप्रति छ ।’