रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । पार्टीका पदाधिकारी, उम्मेदवार, सदस्य, कार्यकर्तालाई निर्वाचन आचारसंहिता अनिवार्य पालना गर्न भनिएको हो ।
आचारसंहिता पालनासम्बन्धी आठ बुँदे निर्देशन जारी गर्दै रास्वपाले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्वाचन आचारसंहिताविपरीत कुनै कार्य नगर्न–नगराउन, सामाजिक सञ्जाल, सञ्चारमाध्यममार्फत पार्टीको छविमा नकारात्मक असर पर्ने गतिविधि नगर्न भनेको छ ।
त्यसैगरी, उम्मेदवार छनौट, प्रचारप्रसार तथा संगठन विस्तारका क्रममा गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा, चरित्रहत्या तथा आन्तरिक अनुशासन भंग हुने क्रियाकलापबाट पूर्ण रुपमा टाढा रहन, पार्टीको निर्णयविरुद्ध कुनै पनि नगतिविधि नगर्न निर्देश गरिएको छ ।
निर्देशन नमानेमा पार्टीको विधानबमोजिम अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ ।