ब्यापारी बटुल्नेमा कुन पार्टी बलवान् ?

ब्यापारी बटुल्नेमा कुन पार्टी बलवान् ?

सुशासन,पारदर्शिता र राजनीतिक स्वच्छताको नारा लगाउने रवि लामिछानेको रास्वपा व्यवहारमा भने फरक देखिएको छ । पुराना पार्टीले पैसावालालाई चुनावमा उठाएर राजनीतिलाई भ्रष्टीकरण गराएको भन्दै सत्तोसराप गर्ने सो पार्टी व्यापारी च्याप्ने मामिलामा अरूभन्दा पनि अगाडि रहेको पाइएको हो । 

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा १६४ क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले चार जना धनाढ्य व्यापारीलाई उम्मेदवार बनाएको छ । यो नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीजस्ता पुराना दलको भन्दा बढी हो ।  

रास्वपाको तर्फबाट काठमाडौँ-९ मा डोलप्रसाद अर्याल,स्याङ्‌जा–१ मा धनन्जय रेग्मी,भक्तपुर-१ मा रुकेश रञ्जित र सुर्खेत-२ मा रमेश सापकोटा उम्मेदवार बनेका छन् । यी सबै व्यापारी हुन् । रवि जेलमा हुँदा कावा सभापति बनेका डोलप्रसादमाथि त सहकारी ठगीको बातसमेत लागेको थियो । 

यसपटक सबैभन्दा धेरै व्यापारी तथा ठेकेदारलाई उम्मेदवार बनाउने पार्टी चाहिँ नेपाली कांग्रेस भएको छ । सो पार्टीले विनोद चौधरी (नवलपरासी), भरतराज ढकाल (स्याङ्जा-१), रमेश धमला (धादिङ-१), कृष्ण रिजाल (धादिङ-२), सुनील शर्मा (मोरङ-३) ,चुन्नप्रसाद शर्मा (रुपन्देही-२), प्रेम खत्री (गोरखा-१), प्रकाशसिंह कार्की (सोलुखुम्बु), विष्णुबहादुर खड्का (सुर्खेत-२) र मोहन आचार्य (रसुवा) लाई उठाएको हो । 

एमालेबाट कपिलवस्तु-३ मा वीरेन्द्रकुमार कनौडिया, मनाङमा पाल्देन छोपाङ र बारा-४ मा किसान श्रेष्ठ उम्मेदवार छन् । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट काभ्रे-२ मा उम्मेदवार बनेका ज्योत्सना सैंजू , नेपाली कम्युनिस्ट पार्टीबाट डोल्पामा उठेका धनबहादुर बुढा र जनमत पार्टीका सिराहा-४ का उम्मेदवार वीरेन्द्र महतो पनि व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् ।

टिप्पणीहरू