रुपन्देहीमा डेढ सय बढीको उम्मेदवारी

रुपन्देहीमा डेढ सय बढीको उम्मेदवारी

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रुपन्देहीमा डेढ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । पाँच वटा क्षेत्रबाट एक सय ५९ जनाले उम्मेदवारी दिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार राजनीतिक दलको तर्फबाट ९४ जनाले उम्मेदवारी दिएका छन् । 

मनोनयन दर्ता गर्ने स्वतन्त्र उम्मेदवारको संख्या ६३ रहेको छ । महिला उम्मेदवार २० जना रहेको कार्यालयमा जनाएको छ । क्षेत्र नम्बर १ मा ३१ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमध्ये २० जना दलीय र ११ जना स्वतन्त्र उम्मेदवार हुन् । सो क्षेत्रमा महिला उम्मेदवार एक जना मात्र रहेका छन् । 

क्षेत्र नम्बर २ मा पाँच क्षेत्रमध्ये सबैभन्दा धेरै उम्मेदवारी परेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । उनका अनुसार त्यहाँ ४१ जनाको उम्मेदवारी दर्ता भएको छ । २१ जना दलको हुँदा २० जना स्वतन्त्र रहेका छन् । सो क्षेत्रमा महिला उम्मेदवारको संख्या ११ छ । 

क्षेत्र नम्बर ३ मा दलका १९ र स्वतन्त्रबाट १७ जनाले मनोनयन दर्ता गरेका छन् । दुई जना महिला चुनावी प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए । क्षेत्र नम्बर ५ मा १५ दलीय र सात स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी दर्ता भएको छ । महिला तीन जना रहेको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए ।

क्षेत्र नम्बर ५ मा २७ जनाको उम्मेदवारी परेको छ । १९ जनाले दलबाट उम्मेदवारी दिँदा आठ जना स्वतन्त्रतर्फ रहेका छन् । त्यहाँ महिला उम्मेदवारको संख्या तीन रहेको छ । दलले उम्मेदवार बनाउन कन्जुस्याइँ गरेपछि महिलाहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

टिप्पणीहरू